अष्ट्रेलियामा "द योगिनी" डकुमेन्ट्रीको प्रोमो र पोस्टर रिलिज


असार ९, २०८०, शनिबार | विहान ०२:५३ बजे | 70


अष्ट्रेलियामा "द योगिनी" डकुमेन्ट्रीको प्रोमो र पोस्टर  रिलिज

नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचीन परम्परागत केन्द्र बहा बहीको उद्गम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहा: ( गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा एक कार्यक्रमका बीच रिलिज गरिएको छ ।
क्याम्प्सी सहरको एक कम्युनिटी हलमा गुथि अष्ट्रेलियाको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रम  गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैंजुको संयोजकत्वमा भएको थियो ।
नेपालको कला संस्कृतिमा नेवार कला संस्कृति निकै लामो इतिहास बोकेको गौरवमय परम्परा रहेको र यसमा पनि ३३ सय वर्षभन्दा पुरानो इतिहास रहेको बज्रयोगिनी क्षेत्र र वज्रयोगिनी बारे बनाइएको यस डकुमेन्ट्री नेपालको इतिहास अध्ययन गर्नेहरूकै निम्ति महत्त्वपूर्ण रहने उनले बताए ।
कार्यक्रममा गुथि अष्ट्रेलियाका अध्यक्ष उमेश नापितले "द योगिनी" डकुमेन्ट्रीको पोस्टर अनावरण गर्दै गुठी अस्ट्रेलिया यस किसिमको सम्पदा संस्कृतिको प्रचार प्रसार कार्य गर्न नै स्थापना भएको बताए । 
गुठी अस्ट्रेलियाया पूर्व अध्यक्ष तथा सल्लाहकार पद्म शाक्यले " महर्जन रत्न नेपाल भाषा अनि नेपाली सिने क्षेत्र  भाषिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका व्यक्ति भएको र उनीसँग पहिला पनि "मुद्दा " चलचित्रमा गुठी अस्ट्रेलियाले सहकार्य गरेको स्मरण गर्दै "द योगिनी" डकुमेन्ट्रीमा पनि सहकार्यगर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा पोस्टर विमोचनपछि  प्रोमो  रिलिज र बज्रयोगिनी जात्रा तथा  बज्रयोगिनीको चर्या गीत पनि प्रस्तुत गरिएको थियो ।
प्रस्तुतिपछि त्यस कम्युनिति हल प्रदान गर्नुहुने फादर ट्रेवोरले बहुसांस्कृतिक देश अस्ट्रेलियामा "द योगिनी" रिलिज हुनु राम्रो कार्य भएको सर्‍हाना गर्दै आफू त्यस डकुमेन्ट्रीमा देखाइएको दृश्यहरुबाट प्रभावित भएको बताए । उनले वज्रयोगिनी चर्या नृत्यको निकै प्रशंसा गरे ।
कार्यक्रममा "द योगिनी"का लेखक/ निर्देशक महर्जन रत्नले काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका पाँच योगिनी र त्यसको महत्त्व बारे चर्चा गर्दै साँखुको गुंबहा  तथा त्यहाँ रहेको बज्रयोगिनीलाई कुन कुन सम्प्रदायले कसरी मान्छन् र यहाँको धार्मिक सांस्कृतिक र पुरातात्वीक महत्व बारे चर्चा गर्दै डा. बाल गोपाल श्रेष्ठको Sacred Town of  Sankhu लाई मूल स्रोतको रुपमा लिएर डकुमेन्ट्री निर्माण गरेको बताए  ।
अमेरिकाको ह्वाइट फेदर प्रोडक्सनसँग मिलेर सुभाय् मिडियाले यस डकुमेन्ट्रीको निर्माण गरेको हो ।
जसमा लोकप्रिय कलाकार तथा नृत्यकार रन्जु श्रेष्ठले बज्रयोगिनी चर्या नृत्यका साथै यस डकुमेन्ट्रीमा एसोसिएट प्रोड्युसरका रूपमा कार्य  गरेका छन्। 
बिशेष गरेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरेर निर्माण गरिएको यस डकुमेन्ट्रीले  नेपाली कला संस्कृतिलाई बिदेशमा प्रचार प्रसार गरी पर्यटन प्रवद्धनमा पनि महत्त्वपूर्ण भूकिका खेल्ने आशा गरिएको छ ।  युनेस्को विश्व सम्पदा सूचीमा बज्रयोगिनी क्षेत्रलाई राख्नका निम्ति चलाइएको अभियानप्रति डकुमेन्ट्रीले पनि आफ्नै किसिमको पहल गरेको  निर्देशक महर्जनले बताए  ।
कार्यक्रममा शंखरापुर नगर पालिकाका मेयर रमेश नापित तथा साँखुमा जन्मेका हाल लाइडन विश्व विद्यालयमा अनुसन्धानकर्ताको रुपमा कार्यरत डा. बाल गोपाल श्रेष्ठले पठाएका शुभकामना शन्देश पनि देखाइएको थियो ।
कार्यक्रममा गुठीका सल्लाहकारहरु  डा. नारायण प्रधान , महेन्द्र श्रेष्ठ ,अनुप महर्जन , शिव श्रेष्ठ दिप्त श्रेष्ठ तथा अन्य पदाधिकारीहरु तथा कलासंस्कृतिलाई माया गर्नेहरुको उपस्थिति रहेको थियो ।

गुठीले "द योगिनी"को पूर्ण डकुमेन्ट्री पनि चाँडै नैं प्रस्तुत गर्ने योजना रहेको आयोजक समितिले  बताएको छ  ।

Comments