“रगत नपाए भक्तपुर जानु” - १८ वर्ष पुरा युवा युवतीहरूले गरे विषेश रक्तदान
जेठ ३१, २०८०, बुधबार | साँझ ०४:०५ बजे | 80
जेठ ३१ आफ्नो १८ औं वर्षको जन्मदिन रक्तदान गरी मनाउँदै प्रत्येक तीन/तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्न प्रोत्साहन गरी रगत र रक्ततत्वहरूको आपूर्ति सहज बनाउने लक्ष्य सहित नेपाल स्वयंसेवी रक्तदाता समाज (नेस्वरस) को ऐतिहासिक प्रथम राष्ट्रिय भेलामा IFBDO/FIODS का अन्तराष्ट्रिय अध्यक्ष जेन फ्रयान्को मास्सारो तथा नेस्वरसका अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा संयुक्तरूपमा सार्वजनिक गरिएको Start 18 Stars अवधारणा अनुरूप "रगत तथा प्लाज्मा नियमित दान गरौं, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔं" भन्ने मुल नारा सहित मनाइएको विश्व रक्तदाता दिवस २०२३ (जून १४) मा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा १८ वर्ष पुरा गरेका नवयुवा तथा युवतीहरूले पहिलो पटक रक्तदान गर्दै रक्तदान कार्यक्रमलाई विषेश बनाएका छन्। साइकल कनेक्ट भक्तपुरको समन्वय तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा बिहान रेडक्रस भवन दुधपाटीबाट जनचेतना मुलक साइकल यात्राले भक्तपुर नगर परिक्रमा गरेर सिद्धपोखरी पार्टी प्यालेसमा सो विषेश रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त साइकल यात्रा रेडक्रस भक्तपुरका महामन्त्री पर्शुराम बस्नेत तथा Start 18 Stars का केन्द्रिय अध्यक्ष पराभस करमचार्यले रिबन काटेर उद्घाटन गर्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले सोही अवसरमा भक्तपुर क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यमा नियमित रक्तदान गर्ने रक्तदाताहरू तथा रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संघ संस्थाहरूलाई सम्मान कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुरका अध्यक्ष सद्धाम बालाले दाताले बिना शुल्क दान गरेको रगत माथि भइरहेको व्यापारिकरणलाई रोक्न संघिय सरकारले नै पहल गर्नुपर्ने र आवश्यक परेको बिरामीलाई निशुल्क तथा स्वस्थ रगत उपलब्ध हुने बन्दोबस्त सरकारले गर्नुपर्ने धारणा राख्दै भक्तपुर रेडक्रसले हाल भक्तपुरको चारै वटा नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउनु निक्कै सर्हानिय कार्य रहेको भन्दै धन्यवाद दिनुभयो। सोही अवसरमा रेडक्रस भक्तपुरका सभापति मनोज थापाले “रगत नपाए भक्तपुर जानु” भन्ने भनाइलाई सार्थक बनाउन वर्ष भरी रेडक्रस भक्तपुरले तदारुकताको साथ रक्तदान लगायत जनचेतनाको कार्यक्रम गरेको बताउनु भयो। प्रमुख अतिथी माननीय दुर्लभ थापाले निशुल्क रगत उपलब्ध गर्न रक्तदान पश्चात रक्त तत्वहरूको सही भण्डारणमा लाग्ने खर्च सरकारले व्यहोरेर आवश्यक बिरामीहरूले निशुल्क रगत प्राप्त गर्न नीतिगत व्यवस्था गर्न आफूले पहल गर्ने बताउनु भयो।
फाेटाेमा हेर्नुहाेस्...