डा. इन्दुल के.सी.को पुखौली इतिहासबाट नियाली हेर्दा
जेठ ८, २०८०, सोमबार | विहान ०५:२१ बजे | 0
ओम धौमडेल
संस्कृतिविद्, भक्तपुर
प्रारम्भ
एउटै मान्छे, समय फरक, समाजले चिन्ने रूप फरक मान्छे उही, अनुहार उही, पोशाक फरक लगाए झैं । ठाउँ उही, भौतिक संरचना उही, परिवर्तित समय काल ऋतु अनुसार कहिले घाम, कहिले पानी, कहिले हावाहुरी, कहिले बदली भए जस्तै । सन्र्दभ नामको छ । हिन्दु संस्कार अनुसार मान्छेको कम्तिमा दुईवटा नाम हुँदो रहेछ । एउटा जन्मेदेखि आमा वावुले जुराइदिएको नाम, अर्को त्यो भन्दा पहिले नै ज्योतिष बाजेले ग्रह नक्षत्र हेरेर चिनामा जुराइदिएको नाम । तर यो दुईवटा नाम बाहेक पनि मान्छेको अर्को एउटा नाम हुन्छ जसलाई बेनाम वा उपनाम पनि भनिन्छ । चिनाको नाम त त्यति सारो लिने चलन छैन । आमाबुवाले दिएको मृत्युसँगै आफ्नो नाम पनि लिएर जान्छ । त्यसमा थोरैको नाम युगौ युगसम्म पुज्य हुन्छ। अमर हुन्छ । तर त्यसको लागि उसले धेरै चीज गुमाएको हुन्छ । त्यसो त मानिसको जीवन कर्कलोको पात माथिको पानी हो । जुनसुकै बेला पातबाट झर्न सक्छ । मानिस पनि बाँचुञ्जेल सुखको खोजीमा हुन्छ । आराम, ऐश खोज्छ । धन खोज्छ । यो संसारकै नियम हो । खान, लाउन मोजमस्ती त सवैले आ–आफ्नो गच्छे अनुसार गरेकै हुन्छ। तर यहाँ फेरि नामकै कुरा आउँछ । यसै सन्र्दभमा मेरो मानसपटलमा बराबर एउटा नाम आउँछ डा. इन्दुल के.सी. । शुरूमा मैले यो नाम सुन्दा मलाई के लागेको थियो भन्ने उहाँ अवश्य महिला हुनुहुन्छ होला । वास्तविक नाम ’इन्दु’ होला । मान्छेले एउटा ल थपि इन्दुल बनेको होला । तर मेरो यो भ्रम धेरै टिकेन । उज्ज्वल के.सी. मेरो एक आत्मीय मित्र पछि थाहा पाएँ आफ्नै साथीको बुवा रहेछ । सजनी के.सी., के.सी. की कान्छी छोरी, सजनी सँगै एउटै कार्य क्षेत्रमा संगै ५ वर्ष भन्दा बढी कार्य गरेको नाताले त उहाँसँग मेरो अत्यन्त नजिकको सम्बन्ध छ । रजनी के.सी. उहाँकी जेठी छोरी, जहाँ भेटेपनि ’दिदी’ शब्द मुखबाट प्रस्फुट भैसकेको हुन्छ । यसरी रजनी, उज्ज्वल एवम् सजनीको बुवाको नाताले उहाँ मलाई बुवा भै लाग्छ ।
अलि अलि कालो अनुहार, ठिक्कको जिउडाल, बाटोमा भेट्दा चिनेकालाई झट्टै बोलिहाल्ने बानी, बढी ख्याल ठट्टा गर्न मन पराउने, यस्तै यस्तै बानी बेहोराका उहाँ कहिल्यै चुप लागेर बसेको देखेको छैन । विहान पख घरको लागि आवश्यक दूध, तरकारी लगायत पत्रपत्रिका जस्ता सामान दुई हात भरि बोकी पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने भै विभिन्न देवदेवीको दर्शन प्रभात कालीन हिडाँइ सँगसँगै सकाउने बानी पहिले देखि थियो, आजपर्यन्त छँदैछ । दिउँसो प्राय एउटा हातले चिन्तामुनि झोला लिई यत्रतत्र गैरहेको, व्यस्त भैरहेको भेटिन्छ। कहिलेकाहीँ लाग्छ, उहाँ किन यसरी लागिपरेको ? उहाँलाई के चिज पुगेन ? रिटायर सरकारी अफिसर, पुख्र्यौली सम्पत्तिको मालिक, सानो सुखी परिवार, उहाँलाई केही चिजको खाँचो छैन । तैपनि उहाँको व्यस्तता, तपस्या, परिश्रम, लगाव देख्दा अझ धेरै चिज पाउन लालायित छ भन्ने अनुमान गर्न सक्छ । संभवत त्यो चिज त्यही नाम हो कि ?
यदि नामकै कुरा गर्ने हो भने उहाँ एउटा दुईवटा क्षेत्रमा मात्र हैन थुप्रै क्षेत्रमा जानिफकार भैसकेका व्यक्तित्व हुन् । कुशल प्रशासकको रूपमा, कानुनी ज्ञाताको रूपमा सामाजिक अगुवाको रूपमा, योग चिकित्साका विधावारिधि प्राप्त व्यक्तित्वको रूपमा यस्तै यस्तै मैले थाहा नपाएका अरू थुप्रै क्षेत्रहरूमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । यस अर्थमा उहाँले जतिपनि क्षेत्रमा हात हाल्नु भयो, सफल हुनु भएको छ । आफ्नो दखल भएको विषयमा कहिल्यै चुप लागेर हात बाँधेर बस्ने चलन उहाँमा छैन । उहाँले हात हाल्नु भएको विभिन्न क्षेत्रहरू मध्ये यहाँको कला संस्कृतिको उत्थानको लागि गर्नु भएको कार्यले मेरो मानसपटलमा उहाँको नाम बरोबर आइरहन्छ ।
भक्तपुर जस्तो कला संस्कृतिले धनी नगरको प्रशस्त मूर्त सम्पदाहरू त छदैछन् । यहाँको दाफा भजन, धल्बा भजन, रास भजन जस्ता अमूर्त सम्पदाहरूले भक्तपुर विश्वमै नामी छ। एउटै सानो नगरभित्र दुईसय भन्दा बढी यस्ता सांस्कृतिक भजन टोलीले यो नगर कति धनी रहेछ, सांस्कृतिक स्तर मापन गर्छ । यसमा विशेष गरि यहीकै रैथाने किसान वर्गको भूमिका विशेष छ । भक्तपुर वडा नं. १ देखि १० सम्मका टोल, चोक, गल्ली, ननी, बहा, बहाल पाटी, सत्तल, द्यःछे, दबु आदि ठाउँहरूमा साँझ विहान घन्किने यस्ता सांस्कृतिक समूहमा वडा नं. ४ नासमनाको बलंपुली (ब्रह्मपुर)को श्याम सुन्दर रास भजन पनि एक हो । उक्त भजन मण्डलमा हातमा हार्मोनियमको तालसँग सुर भर्दै भजन गर्ने एक व्यक्तित्व उहाँ पनि हुनुहुन्छ । भजनप्रतिको उहाँको यो लगावले हो कि भक्तपुरको सबै दाफा, धल्वा रास भजनको विकासको एवम् संरक्षणको लागि उहाँ कला संस्कृति भजन महागुठी जस्तो संस्थामा दिनरात लागिपर्नु भएको छ । उनै कला संस्कृति महागुठीले केही समय पहिले भक्तपुर वडा नं. ४ दुमलाचामा भजन प्रतियोगिताको प्रमुख अतिथीको रूपमा आफू मन्चमा बसेको क्षण सम्झिदा आफूलाई अझै गर्व महशुस हुन्छ । त्यसो त मलाई कुनै भजन, तबला, हार्मोनियमको ज्ञान छैन । तर एकजना संस्कृतिकर्मीको नाताले आफूले पाएको त्यो सम्मान पछाडि उहाँको ठूलो भूमिका छ । उहाँमा जसरी हुन्छ, भक्तपुरका यी सांस्कृतिक मण्डलको संरक्षण र सम्बर्धन गर्नुपर्छ भन्ने मान्यता छ । यही सोचले उहाँ अझै लागिपर्नु भएको छ । केही समय अगाडी नेवा कला संस्कृति प्रतिष्ठानको संस्थापक अध्यक्ष भई संस्था विधिवत स्थापना मात्र गर्नु भएन, दशैंको पहिलो दिन भक्तपुरका ४६ वटा भन्दा बढी वाद्य टोलीहरूको एउटा सांस्कृतिक ¥याली समेत बडो गजबका साथ भक्तपुरको ब्रम्हायणी पीठ देखि दरवार क्षेत्रसम्म भिन्तुना भयो । यसबाट उहाँमा भएको व्यवस्थापनको क्षमता आकलंन गर्न सक्छ । वास्तवमा यो गुण उहाँको रगतमै लुकेको छ । उहाँको रगतको कुरा गर्ने समयमा उहाँका पूर्वजका रगतवारे पनि केही खोतल्नु जरूरी हुन्छ । यो भनेको कुनै समय मिथिलाबाट भक्तपुरमा बसाइँ सरेका पूर्वजहरूको इतिहास हो । आफ इतिहासका जिज्ञासु विद्यार्थीको नाताले हरहमेशा यस्तै यस्तै विषय वस्तुमा अध्ययन अनुसन्धान गर्न मन पराउँछु । यसको अर्थ कसैको आँगन खोतल्नु होइन । मैले यो दुस्साहस गर्न सक्दिन । तर उहाँका पुर्वजहरूको इतिहास उहाँको मात्र इतिहास होइन, समग्र भक्तपुरको इतिहास हो । नेपाल मण्डलको इतिहास हो । तसर्थ नेपाल मण्डलको एकताकाको इतिहासको विषयमा थोर वहुत जानि राख्न उहाँको पूर्वजको इतिहास लाभप्रद हुन आउँछ । यसमा नेपाल मण्डलको एक नगर भक्तपुरको स्थापना लिच्छवी राजा आनन्ददेवले गरे जस्तै सिम्रौनगढको स्थापना डोय नान्यदेवले गरेको इतिहास छ । उनै नान्यदेवले कहिले आकमण गरेर होस वा सन्धी सुलह गरेर नेपाल मण्डलसँग नजिक भएको इतिहास छ। सिम्रौनगढका अन्तिम शासक हरिसिंह देवको समयमा उनका मन्त्री चण्डेश्वले कयौं पटक भक्तपुरमा आई आक्रमण गरेको छ । उनै हरिसिंहदेव सँग यहाँकी राजकुमारी देवलदेवीको विवाह भएबाट नेपालमण्डल र डोयराज्य विच अत्यन्त नजिकको सम्बन्ध रहेको पुष्टी हुन्छ । ने.स. ४४३ मा मुसलमानहरूको आकमण पछि आफ्नो इष्टदेवी तुलजा भवानीका साथ राजपरिवार, मन्त्री, भारदार हरूको आश्रय स्थल भक्तपुर बने। मिथिलाका ब्राम्हणवर्गको शुरूमा न्याय क्षेत्रमा दखल थियो । मैथिल विद्वान एवम् मन्त्री चण्डेश्वरबाट लिखित न्यायविकासिनी ग्रन्थबाट प्रभावित मैथिल ब्राम्हणको रगतमा न्याय अर्थात कानुनी प्रभाव रहेको छ । उहाँमा देखिएको कानुनको फल पनि यसैको प्रभाव हो । त्यस्तै भाषा, साहित्य, संस्कृतिको उत्थानमा मैथिल ब्राम्हणहरूको योगदान वारे जानकार राख्न एक ताकाको भक्तपुरको मल्लकालिन इतिहासतर्फ फर्कनुपर्छ । मल्लकालमा देखिएका वंशमणी झा, रामचन्द्र झा, बीर नारायण, चन्द्र शेखर सिंह, काशीनाथ, गणेश झा, कृष्णदेव जस्ताको नाम आउँछ । यिनीहरू सबै मैथिल ब्राम्हण हुन् । यसमा मैले वंशमणी झा, चन्द्रशेखर सिंहको विषयमा सोध प्रकाशित गरिसकेको छु । यसमा अर्का मैथिल नाटककार गणेश झा को विषयमा अध्ययनरत छु । गणेश झा यही बलंपुलीका मैथिल ब्राम्हण हो, जो भूपतिन्द्र मल्ल एवम् रणजीत मल्लका समकालीन हुन् । भूपतिन्द्र मल्लले त गणेश झा लाई ’सुकबि’ भनि सम्बोधन गरेको छ । एक ठाउँमा त भूपतिन्द्र मल्लले उनलाई ’मित’ भनी सम्बोधन गरेको छ । उनै विभिन्न मैथिल ब्राम्हणहरूको यहाँको भाषा, साहित्य, संस्कृति उनत बनाउन ठूलो योगदान रहेको साक्षी इतिहास छ । भक्तपुरको दाफा भजनमा गाउने मैथिली, उर्दू, संस्कृत, बंगाली, बज्र भाषाका शब्दहरूले ओतप्रोत दाफा गीतहरू उनीहरूकै योगदानको उपज हो । उनै मैथिल ब्राम्हणहरूको रगतको गुण आज डा. इन्दुल के.सी. को रगतमा भेटिनु इतिहासको गहन अध्ययनबाट मात्र सावित हुन्छ । आज इन्दुलजी स्वयम भजनमा मस्त हुनुहुन्छ। बाद्यबादनमा मस्त हुनुहुन्छ । अनि उहाँ स्वयम कवि पनि रहेछ भन्ने तथ्य नेपालको जेठो साहित्यिक पत्रिका शारदामा उहाँको कविता पढेपछि थाहा पाँए । ललितपुरमा नेपाल मण्डपद्वारा सम्पन्न दाफा भजन महोत्सवमा भक्तपुरका विभिन्न दाफा भजनहरूलाई सहभागी गराउन डा. इन्दुल के.सी.ले मलाई ठूलो सहयोग गर्नु भयो । यस सम्बन्धमा उहाँले ती सहभागि हुने सबै दाफा भजनहरूका प्रतिनिधीहरूलाई एकै स्थानमा भेला गराइ छलफल कार्यक्रम पनि सञ्चालन गर्नु भयो । यसरी उहाँले उक्त दाफा महोत्सवको लागि योगदान गर्नुभएको कुरा प्रशंसनिय छ । यो कुरा मेरो जीवनमा अविस्मरणीय रहने छ ।