कविता बुढ्यौलीसित सम्बन्धित ज्येष्ठ
जेठ ५, २०८०, शुक्रबार | विहान ०८:५५ बजे | 25
जीवनाथ अधिकारी छ कोश ज्ञानको ममा छ पक्व भाव–चाहना सबै समृद्ध हुन् भनी म गर्छु नित्य कामना । छ दीर्घ ताप–शीतको अगण्य मेल गाथमा उमेर जे जता पुगोस् छ जोस हात हातमा ।।१।। छ प्रेमको कला ममा म बुझ्छु जिन्दगी–पल र सुस्त भो गला भने धरा नुहुन्छ निष्फल । झुलुक्क घाम हेर्दछु असार–सार रातमा उमेर जे जता पुगोस् छ जोस आँत आँतमा ।। ।।२।। सबेर घाम झुल्किँदा जवानी फर्फराउँछ मुहर तेज–लालिमा बिहानी भर्भराउँछ । छ आँट बोक्न सक्छु म समस्त भार विश्वको अवश्य मार्ग कोर्दछु छलाङमा भविष्यको ।। ।।३।। हरेस खान हुन्न है निरास फाल दूरमा अशक्त बन्नु हुन्न है, पुगिन्छ खास सूरमा । फुलेर केश के भयो, फुलिन्न भित्र भावना समाल्न सक्छु श्रीधरा नवीनता–युवापना ।। ।।४।। न अन्धता समेट्तछु न भेदभाव साँच्तछु म पूर्ण मानवी बनी सहस्र आयु बाँच्तछु । समस्त दाजुभाइ हुन् मनुष्य एक आँतका विभेद छैन क्यै कतै मनुष्य एक जातका ।। ।।५।। म वृद्ध निर्बला कहाँ, अनन्त प्रेरणा म हुँ उमेर गर्छ खास के अनन्त चाहना म हुँ । म स्वप्न भावी कल्पको विकल्प हारको म हुँ म आस, उच्च घाम हुँ समस्त सार पो म हुँ ।। ।।६।।