शब्दसागरका मोतीमा धनिया


जेठ ५, २०८०, शुक्रबार | विहान ०८:३९ बजे | 15


शब्दसागरका मोतीमा धनिया

पशुपतिमान पःमाँ (प्रधान)
प्रारम्भ
हालै डा. इन्दुल केसीको पुस्तक ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रह मैले पढ्ने मौका पाएँ । विभिन्न व्यक्तित्वका लेखकहरुद्वारा लेखिएका पुस्तकहरुलाई उहाँले आफ्नैपनमा समीक्षा गर्नुभएको पाइयो । ती लेखकहरुद्वारा लेखिएका मूल पुस्तकहरु सबै मैले पढ्न नपाएता पनि उक्त समीक्षासङ्ग्रहबाट केही मात्रामा मैले जान्ने बुझ्ने मौका पाएँ । पुस्तकहरु वस्तुपरक भएकोले त्यसको रसास्वादन गर्नेले बेग्लाबेग्लै स्वाद पाउनु स्वाभाविक हो । उक्त समीक्षासङ्ग्रहमा रहेका २२ वटा लेखहरुमध्ये ‘धनियाः कथा र व्यथा’ शीर्षकको लेख वरिष्ठ आख्यानकार परशु प्रधानज्यूले लेख्नुभएको, श्री विमल भौकाजीले सम्पादन गर्नुभएको र डिकुरा पब्लिकेशन काठमाडौंले प्रकाशन गरेको कथासङ्ग्रह २०७५ सालमा प्रकाशित भएको पुस्तक मैले पहिले नै पढ्ने मौका पाएको थिएँ । उक्त कथासङ्ग्रहमा विभिन्न शीर्षकका ४४ वटा कथाहरु सङ्ग्रहित छन् । सो पुस्तकको नाम पनि धनिया साथै एउटा कथाको नाम पनि धनिया नै छ । लेखकले धनिया कथालाई नै प्राथमिकता दिई पुस्तकको नाम नै धनिया रहेकोले मैले डा. इन्दुल केसीको उक्त समीक्षासङ्ग्रहमा रहेका अन्य लेखहरु पढिए तापनि मेरो यो लेख सोही धनिया कथामा मात्र केन्द्रित भएको छु । 
समीक्षक डा. इन्दुलको परिचय
डा. इन्दुल केसी विविध विधाका ज्ञाता भएकोले सुपरिचित हुनुहुन्छ । उहाँलाई मैले विगत ६० वर्षदेखि चिनिआएको छु । तसर्थ उहाँको परिचय मैले आफ्नै भाषामा  दिन रुचाएँ । डा. इन्दुल केसी व्यक्ति एक परिचय अनेक भएको विविध विधामा नाम कमाएका धेरैसँग परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँको सानैदेखिको चञ्चल, चुलबुले स्वभाव अहिले उमेरले आठौं दशक पार गरिसकेको अवस्थासम्म पनि उस्तै छ । सबैसँग घुलमिल हुन सक्ने गुणले गर्दा नै सबैको प्रिय हुन सक्नुभएको हो । चुप लागेर भने बस्नै नसक्ने कुनै न कुनै सृजनात्मक काममा लागी रहनुपर्ने उहाँको राम्रो पक्ष हो । उहाँको नाम नै ‘इन्दु’सँग ‘ल’ प्रत्यय लागेर बनेको इन्दुल नै उहाँको नाम हो । नाम जस्तै काम पनि । ‘इन्दु’ शब्द सुन्दापनि आनन्द लाग्ने शीतलताको आभाष हुने गर्छ । यस्तै शीतलता दिने इन्दुसँग जोडिएर आफ्नो परिचय कायम गर्न सफल व्यक्ति हुनुहुन्छ इन्दुल केसी ।
कथाको सन्दर्भ
हाम्रो समाजमा धेरै पहिलेदेखि लोककथा श्री स्वस्थानी व्रतकथा, राजा हरिशचन्द्रको कथा, धु्रवको कथा, मधुमालतीको कथा, रामायण, महाभारतको कथा, बौद्ध जातक कथा, इत्यादि कथाहरु सुन्ने सुनाउने प्रचलन चलिआएको छ । भाषा, साहित्यप्रेमीहरुले समाजको विभिन्न पक्ष÷विषयहरुको कथाहरु लेखेर प्रकाशन गर्न थाले । कतिपय कथाहरुले पाठकहरुलाई आकर्षित गर्ने गर्दछ । साँच्चै कथा सुन्दाको रमाइलो अनि त्यसबाट दिने ज्ञान गुणका कुराले हाम्रो जीवनमा, हाम्रो समाजमा सचेतना भर्ने काम पनि गर्दछ । कथा लेखेकै कारण क्रुर राणाशासनले कथाकारहरु जेल जानुपरेको, कृष्णराज अधिकारी ‘मक्कै पर्व’मा पर्नुभई मृत्यु वरण गर्नुपरेको हाम्रो इतिहास छ । साहित्यकार तथा आख्यानकार परशु प्रधानले सन्देशमूलक, चेतनामूलक आजका युवावर्गकलाई जुर्मुराउन सफल भएको थान्दछु । यसैले होला उहाँको कथासङ्ग्रह ‘धनिया’लाई डा. इन्दुलजीले आफ्नो समीक्षासङ्ग्रह ‘शब्दसागरका मोती’मा समावेश गर्नुभएको छ ।
धनिया कथाको समीक्षा मेरो दृष्टिमा 
आख्यानकार परशु प्रधानज्यूले हाम्रो नेपालको विशेष गरेर तराई मधेशको समाजमा रहेको थारु जातिको संस्कार, थारुहरुको भाउजू देवरको हक लाग्ने अनौठो प्रचलन, गाउँमा रहेका जनप्रतिनिधि प्रधान, स्थानीय प्रहरी चौकीका इन्चार्ज, हवलदार, गाउँका गन्यमान्ने पञ्चभलादमी भनाउँदाहरु, गाउँमा रहेका भट्टी, रक्साहाहरुको स्वभाव, व्यवहार, तराईको सीमापारी किनमेल गर्न जाने अवस्थामा हुने विविध प्रकारका क्रियाकलापहरुको चित्रण यस धनिया कथामा परशु प्रधानजीले बडो रोचक ढङ्गले गर्नुभएको छ । कथाका नायिका विधुवा जसको नाम धनिया हो, गर्भवती महिलामाथि समाजले गरिरहेको शोषण, अत्याचार, दमनको रोचक विवरण यसमा पाईन्छ । 
दाजु मरिसकेपछि भाउजुलाई देवरले आफ्नो सम्पत्ति र आफ्नो हक लाग्ने श्रीमतीको व्यवहार गर्ने प्रचलन, पेतमा रहेको बच्चालाई एउटा निसन्तान धनाद्यले आफ्नो धर्मपुत्र बनाउन धनियालाई रु. १० हजारमा खरिद गर्न खोजेको, उक्त रकमबाट वडा अध्यक्षको चुनावको लागि खर्च लिने, हवलदारले केही रकम हात पार्ने, केही रकम सुँगुर काटेर गाउँका मान्छेहरुले भोज गर्ने जस्ता अति मार्मिक कुराहरु यस कथामा पाईन्छ । योजना मुताबिक धनियालाई बिक्री गर्न माथि उल्लेखित व्यक्तिहरुको बैठक चलिरहेको अवस्थामा गाउँका केही केटाकेटीहरु चिच्याउँदै सभास्थलमा आई पर एउटा रूखमा मान्छे फलिरहेको कुरा सुनाउन आउँछन् । रूखमा मान्छे फलेको एउटा अचम्मको कुरा हेर्न ती सभामा रहेका सबै मान्छे फलेको रूख हेर्न जाँदा त्यहाँ धनियाले पासोमा झुण्डिएर आत्महत्या गरिसकेको दृश्य देखापर्छ । यसरी कथाको अन्त हुन्छ । 
अन्तमा,
यस कथाले नेपाली समाजको एउटा दर्दनाक चित्रण, पैसामा समाजका मान्छेहरुको  अस्वभाविक रुपमा अनैतिक ढङ्गबाट पैसा कमाउने जस्ता विकृति, विसङ्गतिले भरिएको धनिया कथालाई डा. इन्दुल केसीले आफ्नो ‘शब्दसागर मोती’ समीक्षासङ्ग्रहमा चोटिलो तरिकाले प्रस्तुत गनुभएको छ । म यहाँ कथाकार परशु प्रधानज्यू तथा समीक्षक डा. इन्दुल केसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
अस्तु

फाेटाेमा हेर्नुहाेस्...

शब्दसागरका मोतीमा धनिया

Comments