नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक : डा. महेशमान श्रेष्ठ
जेठ १, २०८०, सोमबार | विहान ०५:४० बजे | 30
केके मानन्धर
नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गराएको समेत बताए ।‘बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भइरहेका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।’ डा. श्रेष्ठको भनाइ छ । उहाँले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा तबरले प्रेम गर्ने नेताहरु आवश्यकता रहेको समेत बताए ।
नागरिक अगुवा श्रेष्ठले देशभित्रको बहुल पहिचानलाई समेत स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । हुनपनि ०७२ सालमा जारी भएको नेपालको संविधानले समेत बहुल पहिचानको नीति स्वीकार गरेको छ । सोही आधारले देशलाई विभिन्न भाषा समुदायको पहिचान झल्कने नीतिको आधारले अगाडि बढाए मात्र समतामूलक समाजको निर्माण हुने डा. श्रेष्ठले बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पछिल्लो समय नगरभित्र रैथानेहरुको भाषा, संस्कृति, संस्कारमा विलचन आएकोप्रति चिन्ता व्यक्त गर्दै सबै तह र तप्का मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । विशेषगरी नेवार समुदायले राजनीति र प्रशासनिक क्षेत्रमा चासो नदिएको भएर पछाडि परेको उहाँको भनाइ छ । त्यसैले लोकसेवा, नेपाली प्रशासन तथा राजनीति सम्बन्धिको आवश्यकता महसुस गराएर हाम्रा सन्ततीलाई विदेश जानबाट रोक्नुपर्ने मानन्धरले बताए ।
नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले सहजिकरण गरेका हुन् । समाजसेवी नमस्ते साय्मि, विभूति मानन्धर तथा उर्मिला मगियाले संयोजन गरेको कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुले सिलसिला मिलाएर बोल्ने, उद्घोषण, नेतृत्व विकास, संस्थागत संरचना तथा लक्ष्य निर्धारण सम्बन्धिको तालिम लिएका छन् । ठमेलको जुद्धोदय उच्च माविको हलमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । ग्वहालि पुचःले यसअघि भक्तपुरको थिमि, कीर्तिपुर, टोखा, मनमैजु, काठमाडौंका विभिन्न टोलहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आदिवासी नेवाः राजनीतिक अभियान काठमाडौं महानगरका संयोजक बाबुराजा प्रजापति, नागरिक अगुवा, जनप्रतिनिधि, विद्यालय प्रशासनका अध्यक्ष, प्राचार्य, शिक्षक, पत्रकारहरुको सहभागिता थियो ।