एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी ‘भूमिगत’


बैशाख २२, २०८०, शुक्रबार | विहान ०३:२९ बजे | 70


एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी ‘भूमिगत’

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक हुँदा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । जसमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रम सकिएपछि पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनी बाटोबाटै ‘भूमिगत’ भएका छन् । 

आफूलाई पक्राउ गर्न लागेको सूचना पाएपछि रायमाझी फरार भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि मोबाइल ‘स्विच्डअफ’ गरेर उनी ‘भूमिगत’ भएका छन् । प्रहरीले बुधबार बेलुका काठमाडौं विमानस्थलबाटै रायमाझीलाई पक्राउ गर्ने योजना बनाएको थियो । उनी सभामुख घिमिरेसँगै बुधबार भैरहवाबाट काठमाडौं फर्किने सूचना पाएर प्रहरी विमानस्थल पुगेको थियो । तर, पक्राउ गर्न टोली खटिएको सूचना पाएपछि रायमाझी टिकट ‘क्यान्सिल’ गरेर सम्पर्कविहीन भएका हुन् । 

स्रोतका अनुसार प्रहरीले पनि बिहीबार रायमाझीलाई पक्राउ गर्न चासो दिएको छैन । ‘उच्च तहबाट पिछा नगर्न आदेश आएको छ,’ एक प्रहरी अधिकारीले भने । ठगीमा संलग्न रहेको अभियोगमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार साँझ नै बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई बिहीबार अदालतमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न म्याद लिएको छ । 

सो घटनामा अरू धेरैजना अनुसन्धानकै दायरामा रहेको प्रहरीले जनाएको छ । अरू थप १०–११ जना पक्राउ पर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । प्रहरीले ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार अन्य उच्चपदस्थको पनि ठगीमा संलग्नता रहेको संकेत मिलेको छ ।

पक्राउ परेकामध्ये सानु भण्डारी र केशव दुलालले आफूहरूलाई सघाउने व्यक्तिहरूको प्रमाणसहित पोल खोलेका छन् । तर, नाम खुलाएकामध्ये केही व्यक्तिमाथि मात्र पक्राउ पुर्जी जारी भएको छ । अन्य व्यक्तिहरूको हकमा प्रमाण संकलन भइरहेको प्रहरी अधिकारी बताउँछन् ।

Comments