भक्तपुरको चण्डेश्वरी जात्रा सुरु


बैशाख २१, २०८०, बिहीबार | साँझ ०४:३४ बजे | 35


भक्तपुरको चण्डेश्वरी जात्रा सुरु

भक्तपुर । भक्तपुरको चासुखेलमा विहीबार रातिदेखि धुमधामकासाथ चण्डेश्वरीको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि जात्रा मनाउने परम्परा छ ।
बैशाख शुक्ल पुर्णिमा र त्यसको अघिल्लो दिन गरी दुईदिन यहाँं धुमधामसँग जात्रा मनाइन्छ । त्यसअनुसार विहीबार साँंझबाट सुरु भएको हो । जात्रा शुक्रबार दिनभर धुमधामकासाथ मनाइँंदै छ । चासुखेलस्थित चण्डेश्वरी देवीको तीनतल्ले मन्दिर वरपर जात्रा सञ्चालन हुन्छ ।
जात्राको क्रममा शुक्रबारबार विहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लाग्ने छ । त्यसक्रममा त्यहाँं बलीसहित पुजाआजा हुने छ । त्यससमय छोरीबेटी बुहारीले उनको भाकल अनुसार फरिया चण्डेश्वरी देवीमा चढाउने परम्परा छ।
जात्राको क्रममा साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नु अगावै रित्तो खटको जात्रा गर्ने चलन छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावालश्करसहितको जात्रा हुनेछ । जात्रा चण्डेश्वरी उकालो हुदै टिबुक्छे, साकोठाबाट पुग्ने चलन छ।
सरकारी पुजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोल पुग्ने प्रचलन छ । तत्पश्चाात चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुदै तचपाल टोल नपुग्दै आउने चौवाटोमा रोकिने परम्परा छ । यस क्रममा खटलाई नबोकी भुईमा घिसार्दै जात्रा गर्ने परम्परा छ । जुन नेपालको कुनै पनि ठाउँमा भएको नदेखिएको बताइन्छ।
त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुदै क्वाछे ओरालोसम्म जात्रा गरिन्छ । पुनः खट फकाई चण्डेश्वरी मन्दिर परिसरको डबली पु¥याएपछि खटबाट मुर्ति निकाली पुजा हुन्छ ।  मुर्तिलाई पेटीमा विराजमान गराई भक्तजनबाट पूजा गरिन्छ । यही साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पु¥याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ।स्थानीय विक्रम धुकुछूका अनुसुार चण्डेश्वरीको यो जात्रा स्थानीयहरु देशकै ठूलो चाँंडपर्व दसैं, तिहार, नयाँं वर्ष भन्दा वढी धूमधामका साथ मनाउँंछन्।
यस क्रममा छोरी ज्वाईलाई पनि भोज बोलाएर उनीहरु भोज खाने गर्छन्, जुन परम्परा दशै, नयाँं वर्षमा मात्रै हुन्छ ।  यस अनुसार आइतबार साँंझ चण्डेश्वरीको मुर्ति द्यःछे (देवताघर) बाट निकालिएको थियो । पुजाआजाका साथ सिंगारिएको खटमा आरोहण गराइएको थियो । जात्राको क्रममा टिप्वा      (निगालोको मुठ्ठा) बालेको थियो । यस दिनको जात्रा विशेष गरी मन्दिर अगाडिको उकालो अर्थात चासु ख्यःउकालोसम्म हुन्छ।
जात्राको क्रममा ठाउँठाउँमा सिलाचा छवयेके भनी आगो धुनी बालिएको थियो । जात्रा सकेपछि चण्डेश्वरीको मुर्तिलाई मन्दिर परिसरमा राखी विभिन्न गुथीबाट गुथीपुजा गरी टोलबासीवीच भोजभतेर गरिएको थियो।जात्राको शुरुवात कसले कहिलेदेखि गरेको हो कुनै विस्तृत अध्ययन भएको नपाइएको इतिहासविद् ओम धौभडेल बताउँंछन्।
मन्दिरसँग सम्बन्धित केही ठोस प्रमाणमा नेपाल सम्बत ८४८ जेष्ठ कृष्ण त्रयोदशीको दिन तत्कालिन भक्तपुरका राजा रणजीत मल्लको समयमा टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको उल्लेख छ । त्यस्तै नेपाल सम्बत ८६५ मा चण्डेश्वरी देवी समिप पार्टी बनाएको अर्काे एउटा प्रमाण मौजुद छ। यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवम जात्रा रणजीत मल्लको समयमा मात्र भएको हो कि भन्ने अनुमान गर्न सकिने इतिहासविद धौभडेल बताउँंछन्।

Comments