यस्तो छ दुगु पूजाको नालीबेली
बैशाख १३, २०८०, बुधबार | दिउँसो ०२:०९ बजे | 30
बैशाख शुक्ल तृतीयको दिनलाई अक्षय तृतीय भनिन्छ । अक्षय तृतीय पछि आउने आईतवार वा बिहिवार जुन पहिला आउँछ त्यसैदिनलाई त:दिन भनिन्छ । त:दिन दुई शब्दहरु "त:" र "दिन" मिलेर बनेको हो । त: भन्नाले तर्हंगु अर्थात ठूलो हुन । यसरी ठूलो दिनको रुपमा पुजिने दिनलाई त:दिन भनिन्छ । यसदिन विशेष गरि आफ्नो कुलको देवताको पुजा गर्ने गरिन्छ । कुलदेवताको पुजालाई कुलपुजा, कुलायन पुजा वा देवाली भनिन्छ भने नेपाल भाषामा दिगु पुजा वा दुगु पुजा भनिन्छ । अक्षय तृतीयका दिन देखि सिथिनख:का दिन सम्म पुजिने कुलदेवताको पुजा मध्य यसदिन धेरै संख्याको पुजा हुने गर्दछ्न । बिशेषगरि भक्तपुरमा यसदिन कुलदेवताको पुजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । थथु सुब्या, दथु सुब्या, कुथु सुब्या लगायत सिद्ध पोखरी, रानी पोखरी, कमलबिनायक पोखरी र भाजु पुखुमा कुलदेवताको पुजा गर्नेहरुको लर्को लाग्ने गर्दछन । आफू जुन दिशाबाट यस नेपाल मण्डलमा आएको हो उक्त दिशा हेरेर गरिने यस पुजामा आफ्नो कुलदेवतालाई बोका कै बलि दिने प्रचलन रहेको छ । बोका बाहेक अन्य जीवको बलि स्विकार्य हुन्दैन । यसैदिन आफ्नो कुलमा ईहि गरिएका चेलीलाई ईहि भित्र्याउने भनेर हाँसको बलि सहितको पुजा भित्र्याउने प्रचलन पनि रहेको छ । यसदिन कुलका जेष्ठ महिलाले आफ्नो कुलका विवाहित एवं अविवाहित सबै महिलाहरुलाई सिन्दुर राखिदिने चलन पनि रहेको छ । तर यो चलन भने कुनै कुनै जातीमा रहेको देखिन्दैन ।
लेख: GR Ranjit