प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलाई बिदाइ
बैशाख ३, २०८०, आइतबार | दिउँसो ०३:३७ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाबाट मकवानपुरको थाहा नगरपालिकामा सरुवा हुनुभएका भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलाई आज बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रजापतिले प्रप्रअ गिरीलाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपीसहित बिदाइ तथा शुभकामना दिनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले सफल कार्यकालको बधाई एवम् शुभकामना दिँदै भक्तपुर नपामा आफ्नो स्मरणयोग्य अनुभवहरुलाई लिपिबद्ध गरी देशका अन्य स्थानीय तहहरुमा पनि अनुभव आदानप्रदानमा सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कर्मचारीहरुले आफ्नो क्षमता र योग्यताअनुसारको काम निःस्वार्थ र इमानदारीपूर्वक गर्र्नु आवश्यक भएको बताउँदै यो नै एक असल र इमानदार कर्मचारीको विशेषता भएको हो, उहाँले भन्नुभयो ।
उहाँले जनप्रतिनिधिले तयार गरेको नीतिलाई कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।
भक्तपुर नपाले प्रत्यक्ष र परोक्ष रुपमा व्यापक जनताको सेवा गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नपाको काम गर्ने पृथक शैलीबारे अन्य स्थानीय तहहरुबाट अध्ययन र अनुभव आदानप्रदान कार्यले निरन्तरता पाउँदै गएको स्मरण गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्रमुख प्रशासकीय अधिकृत गिरी आफ्नो कार्यक्षमतालाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएको बताउँदै भक्तपुरबाट सिकेको अनुभवबारे अन्य ठाउँमा पनि प्रयोग र प्रचार गर्नेेमा आफू विश्वस्त भएको बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रप्रअ गिरीले भक्तपुर नपामा आफ्नो १५ महिनाको कार्यअनुभव सुनाउँदै भक्तपुरमा बसेर काम गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले यहाँबाट सिकेको ज्ञान र अनुभव देशका अन्य क्षेत्रहरुमा पनि प्रचारप्रसार गर्नु आफ्नो दायित्व नै भएको बताउँदै भक्तपुरको आफ्नो कार्यअनुभव जीवनको अविस्मरणीय क्षणको रुपमा लिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले जुनसुकै क्षेत्रमा काम गरे पनि देश र जनताको इमानदारिपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनहरुमा जनताको सेवामा अझ क्रियाशील ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य तथा शाखा उपशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । बिदाइ हुनुभएका प्रप्रअ गिरीलाई नगरपालिकाको तर्फबाट भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका केही प्रकाशन उपहारस्वरुप प्रदान गरिएको थियो ।