किन खोज्दै छन् भक्तपुरका यी मानिसलाई एक विदेशी महिला ?
बैशाख ३, २०८०, आइतबार | विहान १०:३३ बजे | 35
भक्तपुर- त्यसबेला उनी 'कुम्ह: त्व' मा खुब रमाएकी थिइन्। मनमौजी उमेरको घुमाइमा विशेष बनेको थियो भक्तपुर। भाषाको अर्थभन्दा वृहत मानवीय संवादमा घुलेकी थिइन्। माटोको भाँडा बनाउन सिकेकी थिइन्। माटोको सुगन्ध जस्तै मीठो बनेको थियो उनको भ्रमण।
उनले देखाइरहेको फोटो धमिलो भए पनि स्मृति भने हिजोकै झैँ ताजा गरी सुनाइरहेकी छिन्। 'भर्खरै त छुटिएका हौँ तर पनि कहाँ गयो' जस्तोगरी आँखाहरू घुमाइरहेकी छिन्। त्यस्तो एक साथी खोजिरहेकी छिन् जसले केही घण्टाको भेटले हरेक दिनजसो सम्झिरहने बनाइदियो। त्यस्ता एक शिक्षक खोजिरहेकी छिन् जसले माटोको भाँडा बनाउन सिकाएर जीवनको कला बुझाइदियो। जिउनुमा उत्साह थपिदियो।
'म मेरो १३ वर्षकी छोरीलाई पनि उनको बारेमा भनिरहेकी हुन्छु। प्राय कुराकानी गरिरहेकी हुन्छु। क्या गजवका मानिस छन्, मलाई माटोको भाँडा बनाउन सिकाए। घरमा लगेर खाजा खुवाए। परिवारसँग भेटाए। न त मैले बोलेको अंग्रेजी उनले बुझ्थे, न त उनले बोलेको नेवारी र नेपाली नै म बुझ्न सक्थेँ तर पनि हामी खुब गफिएका थियौँ', एक्कासी भरिएका जस्ता आँखा पारेर उनले सुनाइन्।
फोटो हेरेर धेरैले त चिनेनन्। कतिले भनिदिए, उहाँ त बितिसक्नु भयो। तर भरपर्दो जानकारी नपाएसम्म उनी घुमिरहिन्। यताउति सोधिरहिन्। उनी छन् र भेटिन्छन् भन्ने आश उनमा बलियो बनेको थियो।
कुम्ह: त्वको अलि पुछारतिरैको पसलमा काम गरिरहेका छन् गणेशकुमार प्रजापति। उनी चक्कामा माटोलाई आकार दिएर धुपौरो बनाउँदै छन्। उनको परिवार धुपौरोमा समात्ने बिँड बनाउँदै छ। अघिदेखि मोबाइलको फोटो देखाएर सोधखोज गरिरहेकी मिनल राजा अहिले गणेशकुमारको पसलअघि छिन्। गणेशले काम रोक्लान् अनि सोधौँला भनेर केहीबेर पर्खिइन्।
उही पुरानो दिन खोज्दै ५३ वर्षकी उनी अहिले कुम्ह: त्वका गल्ली चहारिरहेकी छिन्। तिल चामल भएको कपालमाथि एउटा चस्मा अड्याएकी छिन्। ट्रेकिङ जाने ब्यागमा पछाडि दुई लठ्ठी हालेकी छिन्। र हातमा लिएको मोबाइलमा फोटो देखाउँदै सोधिरहेकी छिन्, 'उहाँलाई चिन्नुहुन्छ?'
गणेशकुमारले काम रोकेरै मिनलतिर ध्यान दिए। उनले देखाएको फोटो नियाले। एकैक्षणमा भनिहाले, 'उहाँ त इन्द्रप्रसाद हो... इन्द्रप्रसाद प्रजापति।'
'ओहो! तपाइँ उहाँलाई चिन्नुहुन्छ? अहिले कता हुनुहुन्छ उहाँ?' खुसी हुँदै मिनलले सोधिन्।
'पहिले त यहाँ नजिकै काम गर्नुहुन्थ्यो, अहिले त अलि तलतिर हुनुहुन्छ। अलि तल नयाँ घर बनाइरहेको ठाउँमा गएर सोध्नुस् त' गणेशकुमारले बाटो देखाइदिए।
केही ओरालो बाटोबाट सोध्दैसोध्दै मिनल तलतिर लागिन्। अब नाम भनेपछि स्थानीयले उनलाई सही ठाउँ नै देखाइदिए। उनले काम गर्ने भनेको ठाउँमा ढोका बन्द रहेछ। त्यहीँनेर स्थानीयले भनिदिए उनी घर गएका होलान्। अलिकति माथि छ घर।
काम गर्ने ठाउँमा पर्खिरहनभन्दा घर भनेको ठाउँमा नै जाने भइन् मिनल। केही तेर्सो र केही उकालो लागेर फेरि सोधिन्, इन्द्रप्रसादको घर कता होला?
भनिएको घरमा आवाज दिएर बोलाइन्। एकैछिनमा निस्किए एक पाका व्यक्ति। निधारमा ठाडो टीका। ढाका टोपी र काननेर फूल सिउरिएका।
तपाइँ इन्द्रप्रसाद हो? भनेर सोध्दानसोध्दै मिनलले चिनिहालिन्। खुसीले ठूलै स्वरमा कराइन्, 'या द्याट्स हिम, द्याट्स हिम।'
२४ वर्षअघि भेटेको पर्यटकले फेरि आफैलाई सम्झेर खोज्दै आउनु इन्द्रप्रसादका लागि पनि अविश्वासिलो खुसीको क्षण बन्यो। उनले भने, 'तपाइँहरू बस्दै गर्नुस्, म मेरो बुढीलाई पनि बोलाएर आउँछु है। ऊ तल छ।'
'उहाँलाई बोलाउन पर्दैन, बरु हामी पनि उतै जाऔँ न।'
निस्कँदै गर्दा आफ्नो घरबारे इन्द्रप्रसादले भने, 'यो घर चाहिँ मैले भूकम्पपछि किनेको। यत्तिकोमा बस्न त ठीकै हुन्छ भनेर।'
आठ वर्षको हुँदादेखि नै माटोको भाँडा बनाउँदै आइरहेका इन्द्रप्रसाद अहिले ६६ वर्षका भए। कुम्ह: त्वमा उनले काम गरिरहेको यो ५८ वर्षमा कति पर्यटक आए गए। हरेकलाई उनले आत्मीय व्यवहार गरिरहेका छन्। साथीका रुपमा साथ दिइरहेका छन्। माटोको कला सिक्न चाहनेलाई गतिलो सिकाइका लागि अभ्यास गराइरहेका छन्। राम्रो शिक्षक बनेका छन्।
भर्याङको कुनोलाई इन्द्रप्रसादले कार्यकक्ष बनाएका रहेछन्। एउटा सानो चक्का अहिले बिजुली मोटरमार्फत घुम्ने बनाएका रहेछन्। 'पहिले हातैले घुमाउने ठूलो चक्काभन्दा त यो अलि सजिलो नै छ' उनले भने।
'कसरी बनाउने रे! यतिका वर्ष भइसक्यो, पहिले सिकेको त मैले बिर्सिएँ' मिनलले भनिन्।
'हात यहाँ राख्नुस् अनि चारवटा औँला यसरी राख्नुस्' दुईहातभरिको माटो चक्कामाथि राखेर इन्द्रप्रसादले सिकाए।
'लिटल फोर्स एण्ड मोर वाटर' यसपटक इन्द्रप्रसादले हातको भाउमा काम बुझाउँदै अंग्रेजी नै बोले।
कुम्ह: त्वको ६६ वर्षले उनलाई धेरै सिकाएको छ। माटोसँगको सम्बन्ध बनाएको छ। जीवन जिउने सीप दिएको छ। कला दिएको छ। संस्कार दिएको छ। उनको त्यही मानवीय संस्कार नै हो जसले एकपटकको भेटपछि पनि मिनललाई सम्झिरहने बनाइदियो। फर्केर फेरि आऔँआऔँ बनाइदियो।
काम गरिखानेहरूका लागि अहिले दु:ख बढेको हो कि घटेको हो मिनलले बुझिनन्। उनले देखेरै यति बुझिन्, काठमाडौं-भक्तपुर अहिले धेरै नै परिवर्तन भइसकेको रहेछ। पहिले धेरै देखिने खुला ठाउँहरू अहिले भरिएछन्। ठाउँ फेरिए पनि नेपालमा मानिसहरू पहिले जस्तै शान्त स्वभावकै पाइन् उनले। मानवीय सम्बन्ध र पर्यटकप्रतिको व्यवहार आत्मीय नै पाइन्।
बेलायतमा एक औषधी कम्पनीमा काम गरेर अवकास जीवनमा छिन् मिनल। अहिले पनि स्पेनिस भाषा पढाउने काम भने गरिरहेकी छिन्। 'मैले फार्मेसी पढेको हो तर युनिभर्सिटी सकिएपछि स्पेनिस भाषा पनि पढेँ। केही समय स्पेनमा अंग्रेजी भाषा पनि पढाउने काम गरेँ। अहिले बेलायतमा नै बसेर स्पेनिस भाषा पढाउँछु' उनले आफ्नो कामबारे सुनाइन्।
इन्द्रप्रसादको बोली टुंगिनेवित्तिकै मिनलले भनिन्, 'मलाई यो सबै 'म्याजिकल' लागिरहेको छ। यतिका वर्षपछि भेट भयो, उसैगरी माटोको भाँडा बनाउन पाएँ। यो कलाको काम एकैदमै गाह्रो रहेछ। उहाँहरू गजवको कलाकार हुनुहुन्छ।'
जब तपाइँ एक्लै भ्रमणमा निस्कनुहुन्छ तब यो-यो गर्छु भन्ने सूचीको समझदारी आवश्यक पर्दैन। मन लागेको ठाउँमा बसिदियो। मन लागेको ढुंगोमा सुस्तायो। मन लागेको कुरा खाइदियो। यो गर भन्ने कोही छैन। यो नगरौँ भन्ने कोही छैन। एकदमै स्वतन्त्र। आफैमा। आफ्नै लागि। मिनल त्यसैगरी नेपाल घुमिरहेकी छिन्। २४ वर्षअघि पनि त्यसरी नै घुमेकी थिइन्। स्वतन्त्र। मनमौजी।
के गरौँ के गरौँ भावमा भाँडा बनाइरहेको कालो माटो मिनलले आफ्नो अनुहारमा पोतिन्। त्यो सुगन्ध अझै मजाले भोगिन्। नेपाली माटोसँगको सम्बन्ध बोकिन्। आउने दिनहरूमा सम्झिरहनका लागि थप कथाहरू जोडिन्। भनिन्, 'ओहो अलि पागलपन पनि भयो कि के हो!'
जानेबेला इन्द्रप्रसादले दोस्रो तलामा उक्लिएर आफ्ना अरु सामानहरू पनि देखाए। बारम्बार भनिरहे, 'किन्न भनेर देखाएको होइन है। तपाइँलाई कामहरू देखाउन मात्र हो।' फेरि एकपटक इन्द्रप्रसादले आफ्नो निश्चल मनले मन जिते। पर्यटकसँगको मीठो व्यवहारले नेपाल चिनाए।
काठको साघुँरो भर्याङमा बस्दै बस्दै मिनल तल झरिन्। पछिपछि आए इन्द्रप्रसाद। बिदाको हात हल्लाउनुअघि इन्द्रप्रसादले खानका लागि निम्तो दिए। मिनलले बेलुकाको खाना खान आउने बचन दिइन्। 'तर धेरै दु:ख चाहिँ नगर्नू है! म मासुहरू खाँदिन, शाकाहारी मात्रै।'
मिनलले पनि अनुहारको भावले खुसी व्यक्त गरिन्। धन्यबाद भनिन्। फर्केर उनको घर आइपुग्न बाटोको फोटोहरू खिचिन्। चोकका बोर्डहरू खिचिन्। उनलाई डर लाग्यो, 'म बाटो पहिल्याएर बेलुका इन्द्रप्रसादको घर आइपुग्न सक्छु कि सक्दिनँ होला।'