यी हुन् आज जिव्रो छेडाउने बोडेका युवा
बैशाख २, २०८०, शनिबार | विहान ०१:५८ बजे | 5
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष बैशाख २ गते हुने जिव्रो छेड्ने जात्रा यो वर्ष शनिबार दिउँंसो १२ बजेदेखि सुरु हुने भएको छ । थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले संयुक्त रुपमा सार्वजनिक गरेको जात्राको कार्यक्रम तालिका अनुसार जिव्रो छेड्ने जात्रा दिउँंसो १२ बजेबाट सुरु हुने छ ।
यसअघि विहान ८ बजे मध्यपुर थिमिकै बालकुमारीमा सुथसिया जात्रा (विहानको जात्रा) विहान आठ बजेदेखि हुने छ । यो जात्रा अन्तर्गत अविर जात्रा हुन्छ । साथै सुथसिया जात्रा अन्तर्गत नै विहान ८ बजेदेखि नै थिमिकै नगदेशमा सिद्धिगणेश जात्रा, लोकन्थलीमा सिद्धिकाली जात्रा हुने जात्रा तालिका छ । साथसाथै विहान ११ बजेदेखि तिगनीमा निलबाराही जात्रा हुने छ । यी सवै जात्रापछि जिव्रो छेड्ने जात्रा हुने तालिका छ ।
यो वर्ष नयाँं युवाले जिव्रो छेडाउने छन् । मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिव्रो छेडाउने भएका हुन् । यसअघि सुजनकै बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसकेका छन् ।
दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । बुबा बुद्धकृष्णले ९ पटक, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाइसकेका छन् ।
भक्तपुरको विस्का जात्रा अन्तर्गतको मध्यपुर थिमिको यो जात्रा सवैभन्दा वढी प्रख्यात छ । जात्रा हेर्न जिल्लाभरिका साथै उपत्यकाबाट हजारौ मानिसहरुको ओइरो यो दिन बोडेमा हुने गर्दछ ।
हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि बुद्धकृष्णले ९, कृष्णचन्द्रले १२, हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभाषिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धचन्द्र बागश्रेष्ठले ७, जुजुभाइबास श्रेष्ठले ८ जिब्रो छेडाएको बताइन्छ ।
जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि श्रेष्ठ थरकै नेवार व्यक्ति चाहिने परम्परा छ ।
तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।
विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ ।
वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । त्यसका लागि नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ । त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएर मञ्चमा राखिन्छ र सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।