गीतकार बखुन्छेको रोशी सार्वजनिक
चैत २७, २०७९, सोमबार | विहान ०४:४५ बजे | 20
कवि तथा गीतकार हरिकृष्ण बखुन्छेद्धारा रचित गीतिसङ्ग्रह रोशीको एक समारोहका बीच सार्वजनिक गरियो ।
सिर्जना अभियान समाजको आयोजनामा भएको एक कार्यक्रममा प्रमुख अतिथि एवं वरिष्ठ गीतकार राजेन्द्र थापाले सो कृति सार्वजनिक गर्नुभएको हो । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि थापाले गीतमा विषय भन्दा भाव र अनुभूतिको विशेष महत्व हुन्छ भन्दै युवा गीतकार बखुन्छेले प्रकृति र मानवीय भावनालाई सुन्दर ढंगले गीतमा प्रस्तुत गरेका छन् भन्नुभयो ।
गीतकार सुवासचन्द्र ढुंगेलले नयाँ गीतकारका रुपमा देखापरेका बखुन्छेंका गीतहरुले सम्भावनाको आशा जगाएको छ भन्दै रोशीका गीतहरुले पाठकहरुलाई सन्तुष्टि प्रदान गर्ने बताउनुभयो ।
कृतिमाथि टिप्पणी गर्दै गीतकार त्रिविक्रम पाण्डेले रोशीमा विविध विषयका गीतहरु छन् भन्दै गायक तथा संगीतकारहरुले यसलाई रुचाउने छन् भन्नुभयो ।
स्रष्टा बखुन्छेंले विद्यार्थीकालदेखि साहित्यप्रति आफ्नो लगाव रहेको बताउँदै गीतहरुलाई सकभर प्रभावकारी बनाउन आफूले गरेको प्रयासबारे बताउनुभयो ।
साहित्यकार धु्रव मधिकर्मीको सभापतित्वमा भएको सो कार्यक्रममा सिटिइभिटीका उपनिर्देशक रोहित दाहाल, गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, चक्रपाणि स्मारक प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेल, संगीतकार सन्तोष श्रेष्ठ, भक्तपुर सांगीतिक समाजका सचिव अल्वर्ट बज्राचार्य लगायतले शुभकामना दिनुभएको थियो ।
लक्ष्मी बखुन्छे प्रकाशक रहेको सो कृतिमा प्रकृतिको सौन्दर्य, पर्यावरणसित जोडिएको विकासनिर्माण, मायाप्रेमको अनुभूति, भावुकता, विविध प्रकारका मानवीय सम्बन्ध, समसामयिक स्थिति तथा जीवनप्रतिको आवश्यक सकारात्मक सोच आदि विषय भएका ११२ वटा गीतहरु छन् ।