आजदेखि भक्तपुरमा विस्का जात्रा सुरु हुने


चैत २७, २०७९, सोमबार | विहान ०३:२७ बजे | 15


आजदेखि भक्तपुरमा विस्का जात्रा सुरु हुने

भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्का जात्रा सोमबारदेखि सुरु हुँंदै छ । भक्तपुर नगरपालिका वडा नं ५ टौमढीस्थित पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरबनाथको रथ सोमबार दिउँंसो तान्ने क्रमसँंगै आठ रात नौ दिन लामो विस्का जात्रा सुरु हुने छ । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि पाँचतल्ले मन्दिर अगाडि राखेर प्यागोडा शैलिमा काठैकाठबाट बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । 
रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लाने परम्परा रहेकोले पहिलो दिनलाई द्य क्व विज्याइगू भनिन्छ । त्यसकारण त्यो दिन त्यो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राख्ने गरिन्छ । एकातिर मात्रै डोरी राखेर तान्दा कहीकतै अडकिएर फर्काउनु परयो भने समस्या हुने भएकाले दुवैतिर डोरी राखेर तान्ने गरिन्छ । भक्तपुरको पाँंततल्ले मन्दिर क्षेत्रलाई भक्तपुर नगरको वीच भाग मानिन्छ ।  
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख खीमा ओलीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइन् । जात्रालाई हर्षाेलासमय रुपमा बनाउन दिउँंसोबाटै रथ तान्ने क्रम सुरु गरी साँंझसम्ममा सकाउने योजना रहेको उनले सुनाइन् । 
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ । 
भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने जिव्रो छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ । 
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् । 

Comments