यी हुन् यो पटक विस्कामा जिव्रो छेडाउने व्यक्ति
चैत २६, २०७९, आइतबार | विहान ०६:१० बजे | 35
जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि श्रेष्ठ थरकै नेवार व्यक्ति चाहिने परम्परा छ । सोही परम्पराअन्तर्गत सुजनले जिब्रो छेडाउन लागेका हुन् । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।
विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।
भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सोमबारबाट सुरु हुँदै छ । चैत २७ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुने ऐतिहासिक, धार्मिक, सांस्कृतिक बिस्का जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित र सभ्य बनाउन खुल्ला, बोटलमा मदिरा तथा मदिराजन्य पदार्थहरुको ओसारपसार, बिक्रीवितरण, सेवनजस्ता कार्य नगर्न तथा नगराउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुरोध गरेको छ ।
परम्परागत रूपमा रथमा चढ्न अधिकारप्राप्त र परम्पराबमोजिम पहिरन लगाएका व्यक्ति, पदाधिकारी मात्र रथारोहण गर्ने व्यवस्था मिलाउनेसमेत प्रमुख जिल्ला अधिकारी खगेन्द्र्रप्रसाद रिजालले जानकारी दिएका छन् । जात्रा अवधिमा ढुंगामुढा, हुलहुज्जत, होहल्ला गर्ने जस्ता उच्छृंखल व्यवहार गर्नेविरुद्ध कानुनबमोजिम कारबाही गर्नेसमेत प्रशासनको सूचनामा उल्लेख छ ।