बल्ल पूरा भयो भक्तपुर साकोसको आदर निकेतनको सपना
चैत २०, २०७९, सोमबार | दिउँसो ०३:२९ बजे | 25
भक्तपुर । जेष्ठ नागरिकहरुको स्याहारसुसारको लागि भक्तपुरमा भक्तपुर आदर निकेतन सञ्चालनमा ल्याइएको छ । नाफा नलिने उद्देश्यका साथ जेष्ठ नागरिकहरुको सेवा गर्ने स्वच्छ उद्देश्यका साथ खोलिएको सम्भबतः यो भक्तपुरकै पहिलो आदर निकेतन हो ।
भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको ११ आना क्षेत्रफलमा दुई तल्ले भबन बनाई सेवा सुभारम्भ गरिएको हो । भबनको सोमबार एक भव्य कार्यक्रमवीच उदघाटन गरिएको थियो । आदर निकेतनमा ४० जनासम्म जेष्ठ नागरिकहरुलाई राख्नसक्ने क्षमताको रहेको जनाइएको छ ।
भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले जेष्ठ नागरिकहरुको हेरचाहका लागि आदर निकेतन सञ्चालनमा ल्याएको जनाए । नाफा नकमाउने उद्देश्यका साथ स्वच्छ हृदयले जेष्ठ नागरिकहरुको सेवाका लागि आदर निकेतन सञ्चालनमा ल्याएको उनको दावी छ । ‘अहिले घरघरमा कतिका छोराछोरी विदेशमा छन्, कतिका छोराछोरी भए पनि उनीहरु व्यस्त छन्, त्यस्ता परिवारमा रहेको जेष्ठ नागरिकहरुको स्याहारसुहारका लागि हामीले आदर निकेतन सञ्चालन गरेका हौं, उनले भने, ‘पहिलादेखि नै यसको अभाब यहाँं खडकिरहेको थियो, त्यही अभाब मात्रै हामीले पूर्ति गरेका हौं ।’
जिल्लास्थित भक्तपुर वचत तथा श्रृण सहकारी संस्था लिमिटेडको संंरक्षकत्वमा उसकै जग्गामा संस्थाकै ४८ लाखको बजेटमा दुईतल्ले भबन निर्माण सम्पन्न गरी सेवा सुभारम्भ गरिएको हो । यसका लागि संस्थाले जग्गा र घर निःशुल्क बनाइदिएको हो । आदर निकेतनले सञ्चालन खर्च मात्रै आफै व्यर्होने गरी सहकारी संस्थाले सवै वन्दोवस्त मिलाइदिएको हो ।
भक्तपुर वचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम प्रजापतिले जेष्ठ नागरिकहरुको सेवाका लागि आदर निकेतनको अभाब लामो समयदेखि खड्किंदै आएकोले संस्थाकै संयोजकत्वमा संस्थाकै सचिवको अध्यक्षतामा नौ सदस्यीय व्यवस्थापन समिति गठन गरी आदर निकेतन सञ्चालनमा ल्याएको उनले सुनाए । आदर निकेतन मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुने उनले सुनाए ।
संस्थामा ६८ वर्षदेखि ८५ वर्षसम्मका जेष्ठ नागरिकहरुलाई राखिने जनाइएको छ । उनीहरुलाई विहान नौ बजेदेखि साँझ ५ बजेसम्म राखिने कार्यक्रममा जनाइयो । उनीहरुलाई त्यहाँं विहानको खाना, दिउँंसोको खाजासहितको डे केयर (दिउँंसोको हेरविचार) गर्ने बताइयो । साथसाथै उनीहरुलाई आवश्यक नर्स सेवा तथा चिकित्सकको सेवा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका नर्स तथा चिकित्सकहरुले गर्ने वन्दोवस्त रहेको जनाइयो ।
भबन उदघाटन समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पार्टीले लामो समयदेखि जेष्ठ नागरिकहरुको हेरचाहको लागि आदर निकेतनको आवश्यकता महशुश गरी काम गर्दै आएकोमा ढिलो गरी भएपनि सफल भएकोमा खुशी व्यक्त गरे । यसले विशेष गरेर परिवारबिहिन जेष्ठ नागरिकहरुले सेवा पाउनुका साथै परिवार तथा जेष्ठ नागरिकवीचको सम्वन्ध सुमधुर बनाउने, समाजमा जेष्ठ नागरिक बोझ होइन, जिम्मेबारी हो भन्ने भाबना जागृह गराउन सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
फाेटाेमा हेर्नुहाेस्...