अव्यवस्थित तार हटाएर सडक खाली गर्न निर्देशन
भक्तपुर — भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा नजिकिरहँदा जात्राको रुटमा राखिएका निर्माण सामग्री तथा अव्यवस्थित तार हटाएर सडक खाली गर्न निर्देशन दिइएको छ ।बिस्काः जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्य रुपले सम्पन्न गर्न सरोकार पक्षहरूसहित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेर सम्बन्धित स्थानीय बासिन्दालाई निर्देशन दिइएको हो ।
भैरवनाथको रथ तान्ने क्रममा रथले किचेर हुने क्षति, होहल्ला, ढुंगा हानाहानका घटना हुनसक्ने भन्दै जिल्ला प्रशासन, नगरपालिका लगायत सरोकारवालाले जात्रा सुरु हुनुभन्दा एक महिना अघिदेखि नै जात्रा व्यवस्थापनको लागि बैठक, छलफल तथा तयारी गर्दै आएका छन् ।
शुक्रबार बसेको बैठकले जात्रा अवधिमा आवश्यक पर्नसक्ने स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार केन्द्र, एम्बुलेन्स, दमकल लगायत सामग्रीहरु तयारी अवस्थामा राख्न, सडक मार्गमा राखिएका निर्माण सामग्रीहरु हटाउन र बिजुली लगायत केबुल तारहरु हटाई व्यवस्थित गर्न तथा खानेपानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
जिल्ला सुरक्षा समिति र प्रशासनिक तवरले गर्नुपर्ने सबै तयारी समयमै पूरा गर्न आफूहरु तयार रहेको भन्दै गुठी संस्थान शाखा कार्यालयलाई गुणस्तरीय सामग्री समयमै उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका छन् ।
बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरु, गुठी संस्थान शाखा कार्यालयका प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिका अध्यक्ष, भक्तपुर नगरपालिका–४ र ५ का वडाध्यक्षहरु, रेडक्रसका प्रतिनिधि, नाइके, पूजारी र स्थानीय युवा क्लबका प्रतिनिधिहरु लगायतले आ–आफ्नो तर्फबाट भएका तयारी र जात्रा व्यवस्थापनका सम्बन्धमा सुझाव प्रस्तुत गरेका थिए । बिस्केट जात्रा व्यवस्थापनका सम्बन्धमा एक महिनादेखि तयारी गरे पनि यसअघि जात्रा अवधिमा रथ तान्ने क्रममा होहल्ला, ढुंगा हानाहानका घटना हुने गरेका छन् ।