ख्वप अस्पतालको निमित्त मेडिकल डाइरेक्टरमा डा. मजेशप्रताप मल्ल नियुक्त
चैत १२, २०७९, आइतबार | विहान ०९:३१ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मजेशप्रताप मल्ल ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टरमा नियुक्त हुनुभएको छ । सोही अवसरमा ख्वप अस्पतालको आयोजनामा आइतबार नवनियुक्त निमित्त मेडिकल डाइरेक्टरको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख एवम् ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालमा डा. मल्लको नियुक्ति सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णयबारे जानकारी दिंदै नवनियुक्त मेडिकल डाइरेक्टर मल्लाई सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र भएको हुँदा यहाँ कार्यरत चिकित्सक र कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्न मार्गनिर्देश गर्नुभयो ।
ख्वप अस्पतालले छिट्टै प्रसुती सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै जनताको सेवामा समर्पित भएर व्यवस्थित ढंगले अस्पताल सञ्चालन गर्न चिकित्सक र कर्मचारीहरू प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारले बेलायतमा १० हजार नर्स पठाउने गरी श्रम समझदारी गरेको कारण दक्ष नर्सहरु विदेशतिर आकषर््िात भएको बताउँदै दक्ष नर्स र चिकित्सकहरू विदेशिने क्रम नरोकेसम्म दुर्गम क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउन नसक्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले प्रसुती सेवा सञ्चालन गर्ने भक्तपुर नपाको सुरुदेखिको उद्देश्य रहेको बताउँदै उहाँले भक्तपुरमा सेवा विस्तारसँगै धेरैजना बिरामीहरूको लागि सहज हुने बताउनुभयो । उहाँले चिकित्सक र नर्सहरूले बिरामीलाई औषधी उपचारले मात्र नभई असल व्यवहारबाट सेवा दिन सके अझ प्रभावकारी हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जनताको अस्पतालमा जनताको डाक्टर र चिकित्सकको रुपमा काम गर्न प्रेरित गर्नुहुँदै समूहगत कार्यमा सबैले एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नवनियुक्त निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले नेपालको दुर्गम खोटाङ जिल्लामा मेडिकल अफिसरको रुपमा कार्यरत रहँदाको आफ्नो कार्यअनुभव सुनाउँदै स्वास्थ्य क्षेत्रमा भइरहेको नीतिगत भ्रष्टाचारकै कारण नेपालले स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत रुपमा विकास गर्न नसकेको बताउनुभयो । उहाँले आफूलाई प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अस्पतालको सिंगो टीमको साथ र सहयोगको अपेक्षा गर्दै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापति र नर्स रबिना कवांले ४० वर्षभन्दा लामो इतिहास बोकेको ख्वप अस्पतालले आजको सफलता हासिल गर्न विभिन्न चुनौती सामना गर्नुपरेको बताउँदै अस्पतालको उद्देश्यअनुसार सबै कर्मचारीहरूले हातेमालो गर्दै दत्तचित्त भई काम गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
डा. मजेशप्रताप मल्लले २०६१ देखि २०६६ सालसम्म मणिपाल कलेज अफ मेडिकल साइन्स पोखराबाट एमबीबीएस अध्ययन पूरा गरी २०७२–२०७५ सम्म चीनको यांग्त्जे विश्वविद्यालयमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञमा एम.एस. को अध्ययन पूरा गर्नुभएको हो । उहाँले २०६६–६८ सालसम्म खोटाङ जिल्ला अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्य गर्नुभएको थियो भने २०६८ देखि २०६९ सम्म भक्तपुर नपाद्वारा सञ्चालिन जनस्वास्थ्य केन्द्रमा मेडिकल अफिसरको रुपमा समेत कार्य गर्नुभएको अनुभव छ । साथै विभिन्न समयमा कोरिया नेपाल अस्पताल, बयोधा अस्पतालमा हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत डा. मल्ल २०७८ साउन ४ गतेबाट ख्वप अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई २०७९ चैत्र १ गतेबाट लागू हुने गरी ख्वप अस्पताल सञ्चालन समितिले निमित्त मेडिकल डाइरेक्टरको रुपमा नियुक्त गरेको हो ।