पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर


चैत १०, २०७९, शुक्रबार | विहान ०६:५० बजे | 10


पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर

भक्तपुर, १० चैत । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा भएको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविरको उद्घाटन समारोह उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक समारोह बीच शुक्रबार वडा कार्यालयमा सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले नगरपालिकाले जतिपनि कार्यक्रम आयोजना गरिन्छ त्यो सबै देश र जनताको हितका निम्ति र प्रगति, विकासका लागि हुने बताउनुभयो । उहाँले बढी जनसंख्या भएको महिलाहरुका लागि स्वास्थ्य शिविरहरु गर्नु महिलाहरुको लागि झन महत्वपूर्ण विषय भएको वताउँदै विकासको लागि हरेक व्यक्ति स्वास्थ्य नै हो भन्नुभयो । उहाँले महिलाहरुलाई आरक्षण भन्दा पनि अवसर आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रमका सभापति एवम् वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले शिक्षा क्षेत्रमा महिलाहरु बृद्धि हुनुले समग्रमा महिलाहरुको प्रगति देखिनुका साथै महिला शिक्षित हुनुको संकेत हो भन्नुभयो । उहाँले एक महिला शिक्षित हुनु् भएको समग्र परिवार र देश शिक्षित हुनु हो त्यसैले महिलाहरुको स्वास्थ्य पनि राम्रो हुन जरुरी छ भन्नुभयो । 
कार्यक्रममा डा.एरिना खतिवडाले क्यान्सरबाट बच्न व्यक्तिगत सरसफाईका साथै लगायत हरेक बर्ष स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नुभयो । उहाँले क्यान्सर रोगको उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हुने भएकोले आफ्नो स्वास्थ्य, सरसफाई र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा क्यान्सर अस्पतालका राजाराम तजलेले नगरपालिकाको स्वास्थ्य शिविरका कारण अहिले पाठेघर क्यान्सरका विरामी कम भएको तथ्याङ्कबाट देखिएको बताउनुभयो । कार्यक्रम वडासदस्य जितेन्द्र मुनाकर्मीले संचालन गर्नुभएको थियो । 
 

Comments