ललितपुरमा भव्य श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ प्रारम्भ


चैत ९, २०७९, बिहीबार | विहान ०५:४३ बजे | 30


ललितपुरमा भव्य श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ प्रारम्भ

ललितपुर ।  ललितपुर महानगरपालिका नगरप्रमुख श्री चिरिबाबु महर्जनज्यूले एक भव्य धार्मिक समारोहमा पानसमा द्विप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो । श्री दश महाविद्या भक्तिभाव परिवार, ललितपुरको आयोजनामा ललितपुर नगरपालिका–१६ स्थित त्रिलिज्ञेश्वर महादेवस्थानको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रमको सभापति वयोवृद्ध तन्त्र शास्त्रका ज्ञाता श्री जोगेन्द्र जोशीज्यू हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति जगमान गुरुङ, व्यासाचार्य श्री रामचन्द्र उपाध्याय, स्थानीय न.पा. वडा अध्यक्ष, कार्यक्रम व्यवस्थापनका सदस्य श्री रामप्रसाद गिरीलगायत विभिन्न विशिष्ट महानुभावहरुले यस धार्मिक अनुस्थानको महत्व तथा उपादेयताबारे आ–आफ्नो सारगर्भित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चैत ८ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने कार्यक्रमको शुभारम्भ बिहानको शुभ साइतमा ४०० महिलाहरुको समूहले पदयात्रा नगरपरिक्रमा, बाजागाजासहित विभिन्न संघसंस्था, स्वयमसेवक, प्रहरी र स्काउटका महानुभावहरुले ललितपुरनगरको विभिन्न स्थानमा रहेका १० महाविद्याका देवीहरु (१) श्री काली (२) श्री तारा (३) श्री छिन्नमस्ता (४) श्री षोडशी (५) श्री भुवनेश्वरी (६) श्री त्रिपुरभैरवी (७) श्री धूमावती (८) श्री वगलामुखी (९) श्री मातङ्गी (१०) श्री कमलादेवी स्थानमा पुगी नगर परिक्रमा कार्यक्रम सम्पन्न गरियो ।
कलश यात्राको प्रारम्भमा महिला समूहका श्रीमती रजु गिरी, श्रीमती रजनी केसीलगायतले सबै भक्तालु दिदीबहिनी तथा दाजुभाइहरुलाई सगुण प्रसाद स्वरुप रातो टिका, रातो ह्यौवाला, ब्याच लगाइदिनु भएको थियो । ३ घण्टाको समयमा उक्त परिक्रमापछि सम्पूर्ण भक्तजनहरुलाई खाजा नास्ता, प्रसाद भोजन गराइएको थियो । 
९ दिनसम्म उक्त स्थानमा हुने देवी भागवत महापुराण कथा वाचन श्रवणको लागि सबै भक्तजनहरुलाई आमन्त्रण गरिएको छ ।
समाचार सम्प्रेषक – डा. इन्दुल केसी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार





Comments