यस्तो छ भक्तपुरमा क्षयरोगीहरुको तथ्यांक
चैत ८, २०७९, बुधबार | दिउँसो ०१:२३ बजे | 15
भक्तपुर, चैत ७
भक्तपुर जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी क्षयरोगी भक्तपुर नगरपालिकामा रहेको जनाइएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भक्तपुर जिल्लाभरि तीन सय ४७ जना क्षयरोगीको पहिचान भएकोमा भक्तपुर नगरपालिकामा सवैभन्दा वढी एक सय २७ जना क्षयरोगीको पहिचान भएको हो । दोश्रोमा वढी मध्यपुर थिमि नगरपालिकाले एक सय ६ जना क्षयरोगीको पहिचान गर्न सफल भएको जनाइएको छ । साथै सूर्यविनायक नगरपालिकाले ८५ जना र चाँंगुनारायण नगरपालिकाले २९ जना क्षयरोगीहरु पहिचान भएको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरले राखेको तथ्यांक अनुसार जिल्लामा सवैभन्दा वढी क्षयरोगी भक्तपुर नगरपालिकामा पहिचान हुन सफल हो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले चालू आर्थिक वर्षभित्र ६ सय भन्दा वढी क्षयरोगीको पहिचान गर्ने लक्ष्य रहेको सुनाए । ‘चाँंगुनारायण नगरपालिकालाई सन् २०२५ सम्ममा क्षयरागमुक्त जिल्लाको पहिलो नगरपालिका घोषणा गर्ने योजना छ, कार्यालय प्रमुख मिजारले भने, ‘त्यहीकारण त्यहाँं कम मात्रै क्षयरोगी छन् र जिल्लाका चारमध्ये यो नगरपालिकामा कम मात्रै क्षयरोगीको पहिचान भएका हुन् ।’
विश्व क्षयरोग दिवस २०७९ को अवसरमा बुधबार कार्यालयले पत्रकारसँंग गरेको अन्तरक्रियामा कार्यालय प्रमुख मिजारले पूर्ण रुपमा क्षयरोगको लक्षण देखिएपछि मात्रै उपचारका लागि आउने भएकाले क्षयरोगी सवै क्षयरोगीको पहिचान नहुने गरेको बताए । भक्तपुर र मध्यपुर थिमिमा जनसंख्या र जनघनत्व दुवै वढी भएकाले जिल्लाका चारमध्ये यी दुई नगरपालिकामा वढी क्षयरोगी पहिचान हुन गएको उनले सुनाए ।
धुम्रपान गर्ने व्यक्ति, लागु पदार्थ सेवन गर्ने व्यक्ति, श्वासप्रश्वासका दीर्घ रोगी, कुपोषण भएका बालबालिका, गरिब (अत्ती विपन्न परिवार), अंग प्रत्यारोपण गरेका व्यक्ति, शरिरको प्रतिरक्षा शक्ति कम भएका व्यक्तिहरु (एच.आई.भि संक्रमित, मधुमेह, क्यान्सर आदी), उमेर ढल्केका व्यक्ति, स्वास्थ्यकर्मीहरु, सिमेन्ट, गलैचा कम्पनी तथा ढुङ्गा, गिटी कुट्ने मजदुर आदि क्षयरोगको वढी जोखिममा रहेको नेपालको तथ्यांक छ ।
क्षयरोगको रोकथामका लागि प्रारम्भिक चरणमै रोगको पहिचान गरी उपचार गर्नुपर्छ । साथै नियमित र पूर्ण अवधिको उपचार गरेमा क्षयरोग निको हुन्छ र अरुलाइ सर्दैन । साथसाथै खोक्दा र हाच्छ्यु गर्दा मुख छोप्ने तथा मास्कको उचित प्रयोग गर्नुपर्छ । जथाभावी नथुक्ने तथा खकारको उचित व्यवस्थापन गर्नुपर्छ । बच्चाहरु जन्मने बित्तिकै जति सक्दो छिटो बि सि जी खोप लगाउनुपर्छ ।
लागिहालेमा क्षयरोगको उपचार प्रत्यक्ष निगरानीमा गरिन्छ । जुन विधिलाई डट्स भनिन्छ । क्षयरोगको औषधी हरेक स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाइन्छ । यो औषधी ६ महिनासम्म नियमित रुपमा खानु पर्दछ । भक्तपुर जिल्लामा सरकारी गैह्रसरारी तथा प्राइभेट गरी ४५ वटा क्षयरोग उपचार केन्द्रहरु रहेका छन् ।