भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता


फाल्गुन २५, २०७९, बिहीबार | विहान ११:५० बजे | 25


भक्तपुर नगरपालिका र तिलगंगा सामुदायिक आँखा अस्पतालबीच पूरक सम्झौता

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंबीच बिहीबार नपा सभाकक्षमा पूरक सम्झौता सम्पन्न भयो ।
सम्झौतामा नगर प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ । केन्द्रको नाम परिवर्तन गरी ख्वप—तिलगंगा आँखा अस्पताल रहने र उक्त अस्पताल नपाद्वारा नवनिर्मित अस्पताल भवनको चौथो तल्ला उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । नगरपालिका र प्रतिष्ठानबीच २०७३ वैशाख १५ गते भएको मूल सम्झौतामा भक्तपुरमा सामुदायिक आँखा केन्द्र सञ्चालनको लागि नगरपालिकाले एक रोपनी जग्गा उपलब्ध गराउने उल्लेख थियो ।
बिहीबार भएको पूरक सम्झौतामा नपाले प्रतिष्ठानलाई ख्वप अस्पतालको नवनिर्मित भवनको चौथो तल्ला उपलब्ध गराउने र त्यसबापत प्रतिष्ठानले जग्गा माग नगर्ने उल्लेख गरिएको छ ।
नगरपालिका प्रमुख सुनिल प्रजापति र प्रतिष्ठानका प्रमुख अधिकृत डा. रिता गुरुङको उपस्थितिमा भएको उक्त कार्यक्रममा नपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रतिष्ठानको तर्फबाट डा. गुरुङले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा स्वास्थ्य संस्कृति समितिका सदस्यहरु रबिन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ, कृष्णप्यारी जधारी, ख्वप अस्पतालका तर्फबाट डा. रत्नसुन्दर लासिला, डा. अमर प्रजापति, डा. मजेशप्रताप मल्ल, अस्पताल व्यवस्थापक विश्वजित प्रजापति, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति थियो भने नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ, प्रमुख सञ्चालक अधिकृत पिताम्बर अधिकारी, तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक नबिनकुमार राई, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल, भक्तपुर आँखा अस्पतालका प्रमुख डा. विक्रम श्रेष्ठ, इन्चार्ज धिरज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

Comments