भक्तपुरको होली ः आज भीमसेनको लामो लिंगो घुमाइने


फाल्गुन २२, २०७९, सोमबार | विहान ०५:५९ बजे | 15


भक्तपुरको होली ः आज भीमसेनको लामो लिंगो घुमाइने

भक्तपुर । भक्तपुरमा होली सुरु भएको छ । भक्तपुरको होली फागु शुक्ल अष्टमीदेखि सुरु हुन्छ । यहाँका स्थानीयले भीमसेनको लिंगको प्रतीकस्वरुप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिंगलाई नगर परिक्रमा गराएर फागु मनाउने चलन छ ।
होली भनेपछि सबैको दिमागमा रंग वा पानीको परिकल्पना गरिन्छ । तर भक्तपुरको होली भने विशेष ढङ्गले मनाउने चलन छ । यहाँ महाभारतको भीमसेनको लिंगलाई प्रदर्शन र परिक्रमा गरी होली पर्व मनाउने गरिन्छ । भीमसेनको योनाङ्गको प्रतिकका रुपमा लिंग आकारको ठूलो, लामो, मोटो काठको लिंगलाई प्रदर्शन र परिक्रमा गराउने गरिन्छ ।
भक्तपुर नगरपालिका– ३ तचपाल टोल दत्तात्रेयस्थित भीमसेन मन्दिरमा झुन्ड्याइएको काठको लिंगलाई एक व्यक्तिले बोकी नगरको पूर्व सूर्यमढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठ नजिकको ब्रह्मकुण्डमा पखाल्न लैजाने परम्परा छ ।
कहिले सुरु
भक्तपुरको होली एक हप्ता अगाडिदेखि सुरु हुन्छ । भक्तपुरको होली फागु शुक्ल अष्टमीदेखि सुरु हुन्छ ।  यो दिन भक्तपुरमा चिर स्वायगु भनेर सुरु हुन्छ । यसको अर्थ गहिरो सम्बन्ध गाँस्ने भन्ने बुझाउँछ । यसलाई नेपालीबाट चिरोठान भनिन्छ ।
यो चिरोठान भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरबाट सुरु हुने कुरा त्यहाँका पुजारी केशरी कपालीले जानकारी गराइन् । चिरोठानको दिन भिमसेनको योनाङ्गको प्रतिकलाई बोकेर भक्तपुरको पूर्वमा रहेको कमलविनायकको पोखरीमा धुने चलन छ । त्यसपछि दत्तात्रयमा ल्याएर पुजा गरिन्छ । त्यसपछि पश्चिमपटि गोल्मढी, सुकुलढोका, भूलाछें, नागपोखरी हुर्दै पुन दत्तात्रयको भिमसेन मन्दिरमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याउने चलिआएको छ । अहिले यो लिंगलाई भक्तपुरको दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा झुण्डाएर राखिएको छ ।
पहिला कहाँ, अहिले कहाँ झुन्ड्याउने? 
पहिला पहिला भए भिमसेनको यानाङ्गलाई भिमसेन मन्दिरको तल पाटीमै झुन्ड्याउने चलन थियो। अहिले भने मन्दिरको माथि झुन्ड्याउने चलन छ । धेरै भीडभाड हुन सार्वजनिक पाटीमा राखेर लिंग झुन्डाउनदा बिशेष गरेर महिलालाई हिडडुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई माथि झुन्डाउन थालिएको जनाइएको छ ।
सस्कृतिविद् ओम धौभडेलका अनुसार यो चिर स्वायगु चलन मल्लकालीन समयदेखि सुरु भएको हो । किनभने भक्तपुरको यो जात्रा दत्तात्रयमा भएको भिमसेन मन्दिरको स्थापनापछि मात्र  सुरु भएको कुरा उनले जानकारी दिए । यो जात्रामा ३ फिट लामो काठलाई एउटा रातो कपडामा प्वाल पारेको भित्र छिराएर भिमसेन मन्दिरको भित्र एकहप्ता सम्म झुन्डाउने चलन रहेको उनले सुनाए । यो काठलाई भिमसेनको योनांगको प्रतिक मानिन्छ । रातो कपडामा रहेको प्वाललाई द्रोपतीको यानीङ्गको प्रतिक मानिदै आएको छ । भक्तपुरको यो जात्रा भिमसेन र द्रोपतीको समागम गराइ होली सुरु हुन्छ । 
यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन गरिन्छ । होलीको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ । भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको छ ।
के सिकाउछ यो पर्वले (चिर स्वायगु)?
पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा होली पर्व शुरू हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट भएको कुरा उनले स्पष्ट गराए । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझन्को लागि यो पर्व हो ।
दत्तात्रय मन्दिरसँगै रहेको भीमसेनको मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको शुरुआत गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको काठको ठूलो लिङ्ग (स्थानीय भाषामा लग)लाई टोल–टोलमा घुमाएर पूजा गरिन्छ । 
धौभडेल भन्छन्, पहिला पहिलाको केटाहरु चिर स्वायगु दिनपछि यो गीत गाउने गर्थे, ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि’ भनेर भजन–कीर्तन गर्थे ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी’ अर्थात् ‘अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर भाका हाल्ने गर्छन् । पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।
पूर्णिमाको दिन दत्तात्रय मन्दिरको अगाडि रहेको भीमसेनको लिङ्गलाई निकालिन्छ । त्यसपछि यसलाई धुनको लागि सूर्यमढि च्याम्हासिंह हुर्दै ब्रह्मायणी नदीसम्म बोकेर धुने चलन छ । यो अन्तिम दिनका भिमसेनको योनाङ्ग बोक्न आउनेको भिड लाग्छ । किनभने योनाङ्ग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास छ । भिमसेनको योनाङ्ग छोरा नभएकाहरु बोक्छन । होलीको दिन साँझ योनाङ्ग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ । 

Comments