प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजहरुको स्थलगत अवलोकन


फाल्गुन २१, २०७९, आइतबार | विहान १०:३३ बजे | 15


प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजहरुको स्थलगत अवलोकन

भक्तपुर । प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था तथा अस्पतालको आइतबार स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । मन्त्री श्रेष्ठले भक्तपुरको देकोचास्थित ख्वप कलेज, ख्वप मावि, च्याम्हासिंहस्थित ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र, लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाईको देशकै लागि अतुलनीय योगदान गरिरहेको बताउँदै भक्तपुरबाट अन्य स्थानीय तथा प्रदेशहरुले पनि सिक्न जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लागि आवश्यक सिटी स्क्यान र एमआरआईलगायतका स्वास्थ्य उपकरणहरु सहयोगको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि समेत पहल गर्ने विश्वास दिलाउनुभयो ।
भक्तपुरको सफल नेतृत्वले गरिरहेको असल अभ्यासहरु सा“च्चै नै उदाहरणीय र अनुकरणीय भएको बताउँदै मन्त्री श्रेष्ठले भक्तपुरको असल अभ्यासबारे अन्य प्रादेशिक अस्पताल र स्थानीय तहहरुमा अनुभव आदानप्रदानमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज तथा स्वास्थ्य संस्था भ्रमण गर्नुभएको धन्यवाद ज्ञापन गर्दै भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरु र अस्पतालको लागि आवश्यक सहयोग गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गर्नुभयो ।
भक्तपुर नगरपालिकालाई हरेक विषयको परीक्षण गर्ने थलो (टेष्ट ट्युब) को रुपमा अगाडि बढाउने प्रयासरत रहेको बताउँदै उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन सिंगो नगरपालिका र नगरपालिकाअन्तर्गतका शैक्षिक संस्थाहरु क्रियाशील रहेको बताउनुभयो ।
निरीक्षणका क्रममा ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठ, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेज तथा अस्पतालबाट प्रवाहित विषयगत विशेषता, सेवा सुविधाहरुबारे संक्षिप्त जानकारी गराउनुभयो । उहाँहरुले कलेज सञ्चालनको उद्देश्यमाथि प्रष्ट पार्दै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्नु नै भक्तपुर नपाको मुख्य उद्देश्य भएको बताउनुभयो ।
निरीक्षणमा बागमती प्रदेशसभाका सांसदहरू सुरेन्द्रराज गोसाईं, सृजना सैंजु, किरण थापा, धनेश्वरी प्रजापति र शकुन्तला श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति थियो ।
मन्त्री श्रेष्ठ र प्रदेश सांसदहरुलाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका र ख्वप इन्जिनियरिङ कलेजका केही प्रकाशन र भक्तपुरको कलात्मक मयुरको झ्याल उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

Comments