उपप्रधानमन्त्री श्रेष्ठद्धारा नगरकोट सडकको अनुगमन ः आक्रोशितसँंग झण्डै हात हालाहाल
फाल्गुन १८, २०७९, बिहीबार | विहान ०७:५५ बजे | 25
भक्तपुर । भक्तपुरको नगरकोट सडकको अनुगमनमा पुगेका नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्बाधारमन्त्री नारायणकाजी श्रेष्ठ र स्थानीयबीच बिहीबार भनाभन परेको छ । सडकको अवस्थाको अवलोकन गर्न मन्त्री आएको थाहा पाएपछि नगरकोट सडक खण्ड अन्तर्गत तेलकोट भन्दा एक किलोमिटर माथि बाँस्कोटा टोलबासी सडककोवीचमा आएर सवारीलाई रोकका थिए ।
स्थानीयले बाटोकोवीचमा पुगेर सवारीलाई रोक्न खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेका थिए । तर हटाउन नसकेपछि गाडी रोकिएको थियो । त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली बाहिर आएको थियो । गाडीबाट बाहिर आएर उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको दुखेसो सुनेका थिए । स्थानीयको आक्रोश देखेपछि उनले सडक छिटै बन्ने प्रतिवद्धता जनाएका थिए । तर पनि स्थानीयले नौ वर्षमा नौ जना मन्त्री अनुगमन आए, अव पनि सडक बन्नेमा विश्वास छैन भनी मन्त्रीसमक्ष आक्रोश पोखेका थिए । तथापि म पहिलो पटक हो मलाई विश्वास गर्नुहोस भनी मन्त्री साम्य बनाई नगरकोट पुग्न गाडीमा चढेका थिए । तर आक्रोशित भीडले जतिपटक मन्त्री अनुगमन आउने गरे पनि केही नभएको, यसको लागि पुराना पार्टीको भर छैन, रवि लामिछाने, बालेन शाह आउनुपर्छ भनेपछि गाडी चढेका मन्त्री फेरि भीडमा फर्केका थिए । भीडमा पुगेपछि मन्त्री श्रेष्ठ र स्थानीयवीच भनाभन परेको थियो । त्यहाँं झण्डै आधा घण्टा स्थानीयसँंग भनाभन भएकोे थियो । स्थानीयको आक्रोशवीच मन्त्री पनि आक्रोशमा आएपछि मन्त्री र स्थानीयवीच बाझाबाझ नै परेको थियो । घटनाले उग्र रुप लिन थालेपछि उपप्रधानमन्त्री श्रेष्ठलाई ठम्ठम्याउन नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरु पुगेका थिए । उपप्रधानमन्त्रीलाई आक्रोशमा नआउन पार्टीका जिल्ला संयोजक सुनिल बासुलगायतका नेताहरु पुगेका थिए । आक्रोशित ठूलो भीडले उपप्रधानमन्त्रीलाई घेरेका थिए । मन्त्री श्रेष्ठ साम्य भएपछि टोली नगरकोटतिर अगाडि वढेको थियो ।
अनुगमन टोली कमलविनायक भत्केको पाटीबाट नगरकोटसम्म पुगेको थियो । टोलीमा भारतीय राजदुतको पनि सहभागिता रहेको थियो । साथै विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्लाका सुरक्षा प्रमुखहरु, चाँंगुनारायण नगरपालिकाका वडा अध्यक्षहरुसमेत नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित दुईवर्षभित्रमा सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो । सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए । सम्झौताको नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ अवस्था बुझ्न सडकमा पुगेका हुन् । सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ । नवौं पटकको म्याद थप अनुसार अहिले फागुन मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने मिति छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । तर सडकको अवस्था भने दुरावस्थामै छ ।