कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड
फाल्गुन १४, २०७९, आइतबार | दिउँसो ०२:११ बजे | 5
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका हुन् । देशमा ललितकलाका हजारौं कलाकार भएपनि कलाबाट जीविकोपार्जन गर्ने अवस्था न्यून हुँदा कतिपय कलाकार पलायन भएका र कतिपयले बैकल्पिक पेशा अगाल्नुपर्ने बाध्यताबारे चिन्ता व्यक्त गर्दै अर्थविद समेत रहेका ढकालले कलाबाटै जीविकोपार्जन हुनसक्ने योजना बनाउन सुझाव दिए । कलाकारले आफ्नो कला कृती बेचेर बिदेशी मुद्रा आर्जन गर्न सके त्यसले देशकै अर्थतन्त्र उकास्न समेत मद्दत मिल्ने उनको भनाइ छ । देशमा कला पर्यटनको प्रचुर सम्भावना रहेको जिकिर गर्दै उनले कलाकारिताको प्रत्यक्ष अवालोकन गर्न पाउने स्थल निर्माणको योजना ल्याए बागमती प्रदेश सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्नसक्ने समेत बताए । कलाले सभ्यताको सौन्दर्यकरण गर्ने भन्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले देशलाई चिनाउने ललितकलाको बिकासमा प्रदेश सरकारले महत्वका साथ् सहयोगको हात अघि बढाउने आश्वासन दिएका थिए । आगामी वार्थिक वर्षमा ललित कलाको बिकासको क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण र बजेट बिनियोजनमा आफूले सक्दो सहयोग गर्ने भन्दै उनले आवस्यक योजनाको प्रस्ताव पेश गर्न आग्रह गरेका थिए । उक्त अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले देशका तीनैवटा सरकारसंग समन्वय गरी ललितकलाको बिकासमा अघि बढ्ने योजनाबारे अवगत गराएका थिए । उपकुलपति लाल काजी लामाले रामेछापको सुनापतिमा थान्का कलाको हब बनाउन प्रदेश सरकारको सहयोगको अपेक्षा गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले(देवेन्द्र थुम्केली) ले बागमती प्रदेशभित्र मात्र २० हजार बढी कलाकार रहेकाले प्रदेश सरकारले कला र कलाकारको बिकासको क्षेत्रमा सहयोग गर्ने बिश्वास व्यक्त गरे । कलाकारलाई दक्ष बनाउन र प्रादेशिक कला प्रदर्शनी र प्रोत्साहनको व्यवस्था गर्न उनले माग गरेका थिए । बौद्धिक युवा नेताको पहिचान बनाएका अर्थ राजनीतिका बिज्ञ ढकाल प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लहाकार भएकाले कला क्षेत्रले उनीबाट धेरै आश गरेको सदस्य सचिव थुम्केलीले बताए । प्राज्ञ सौरगंगा दर्शनधारी, प्राज्ञ पाल्साङ्मो लामा, प्राज्ञ प्रदीप अधिकारी, प्राज्ञ अरूणा हिङमाङ्ग, प्राज्ञ संजय बान्तवा लगायतले स्थानीय तहमा जथाभावी मूर्ती स्थापना गर्दा देशकै कला क्षेत्रको बद्नाम भएको दुखेसो व्यक्त गरे । उनीहरुले इन्जिनियरबाट निर्माण नियन्त्रण गरेजस्तै ललितकला विज्ञको निगरानी र स्वीकृतीमा मात्र मूर्ती स्थापनाको व्यवस्था मिलाउनुपर्ने बिचार व्यक्त गरेका थिए । बागमती प्रदेशको कला र सौन्दर्य वृद्धिका लागि प्रतिष्ठानलाई काम गर्ने अवसर दिनुपर्ने प्राज्ञहरुको भनाइ छ ।