पर्यटन विकास देशको आर्थिक विकासको आधार


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ०७:२८ बजे | 10


पर्यटन विकास देशको आर्थिक विकासको आधार

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पु¥याउन भक्तपुर नगरपालिकाले पर्यटनमा संलग्न पर्यटनकर्मीहरुलाई रोजगारीको अवसर सृजना गरिरहेको बताउँदै पर्यटन विकास देशको आर्थिक विकासको आधार हो भन्नुभयो ।
मंगलबार भक्तपुर नगरपालिकामा आयोजित ३४ औं अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवस कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सरकारमा गएका राजनीतिक पार्टीहरुले देश कसरी बनाउने भन्दा पनि आफू सत्तामा कसरी जाने र पद हाउने होडबाजीमा रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थल बनाउन सकिने धारणा राख्दै सिंगो देशको पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो । पथ प्रदर्शकहरु देशको राजनीतिक अवस्थाबारे जानकार हुनुपर्ने र अध्ययनलाई जोड दिनुपर्ने धारणा राख्दै उहाँले देशको अर्थतन्त्र बलियो बनाउन देशलाई आयातमुखी नभई निर्यात गर्न क्षमता अभिवृद्धि गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथ प्रदर्शकहरुले पर्यटकहरुलाई सत्यतथ्य सूचना प्रवाह गरी नगरको प्रवद्र्धनमा टेवा पु¥याउन प्रेरित गर्दै पथप्रदर्शकहरु भक्तपुर नपाका गतिविधिबारे जानकार हुनुपर्ने बताउनुभयो ।
त्यस्तै भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले ३४ औं विश्व पथप्रदर्शक दिवसको अवसरमा यस वर्ष भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकहरुलाई परिपालना, शिष्टता, नियमित योगदान, पहिरण, दक्षता, लगनशीलता आदि विषयमा मूल्यांकन गरी उत्कृष्ट पथप्रदर्शकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटन समिति सदस्य एवम् ८ नं. वडाध्यक्ष कृष्णप्रसाद कोजु, पथपदर्शक परिचालन समिति सदस्य दामोदर सुवाल र दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
सोही क्रममा प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट पथप्रदर्शकहरु माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल, रत्नकृष्ण प्रजापतिलाई पुरस्कृत गर्नुभयो ।

Comments