लिजामा भक्तपुर नगरपालिका बन्यो जिल्ला उत्कृष्ट
फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ०५:०८ बजे | 30
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा) मा भक्तपुर नगरपालिका जिल्लामा उत्कृष्ट भएको छ । जिल्लाका ४ स्थानीय तहमध्ये भक्तपुर नगरले सबैभन्दा बढी प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा भक्तपुर नगरपालिकाले समग्र ६१.९ प्रतिशत अंक पाएको थियो । सो मूल्यांकनमा चाँगुनारायण नगरपालिका दोस्रो भएको छ । सो नगरपालिकाले ४८.८९ प्रतिशत पाएको छ ।
औसतमा भक्तपुर नगरापलिकाले ६५ प्रतिशत र चाँगुनारायण नगरपालिकाले ४९.२५ प्रतिशत अंक पाएको छ । जिल्लाका बाँकी दुई नगरपालिका(सूर्यविनायक र मध्यपुर थिमि भने सो मूल्यांकनमा सहभागी नै भएनन् ।
सरकारले प्रत्येक वर्ष स्थानीय तहको स्वमूल्यांकन गर्ने गरेको छ । त्यसका लागि सरकारले सहकार्य र समन्वय, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सामाजिक समावेशीकरण, भौतिक पूर्वाधार, न्यायिक कार्य सम्पादन, सेवा प्रवाह, वित्तीय एवम् आर्थिक व्यवस्थापन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, संगठन तथा प्रशासन, शासकीय प्रवन्ध गरी १० वटा विषय क्षेत्र निर्धारण गरेको छ । सो क्षेत्रमा प्राप्त गरेको अङ्कका आधारमा स्थानीय तहको क्षमता मूल्यांकन गर्ने गरेको छ ।