आज विहान चलेको थियो भक्तपुरमा गोली


फाल्गुन ८, २०७९, सोमबार | विहान ०४:३७ बजे | 30


आज विहान चलेको थियो भक्तपुरमा गोली

भक्तपुर । नेपालमा पटकपटक जनआन्दोलनहरु भए । २००७, २०४६, २०६२ आदि । यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरबासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो । किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र त्यही गोलीबाट भक्तपुरमा चार जना शहीद भएका थिए । आजकै दिन टौमढीमा गोली लागेर राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भएको थियो भने टौमढीमा अलि पर त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि गोली लागेर निधन भई शहीद भएका थिए ।
२०४६ साल फागुन ७ गते पञ्चायती शाशनविरुद्ध प्रजातन्त्रका लागि देशैभर नेपाली कांग्रेसलगायतका संयुक्त दलहरुले जनआन्दोलनको घोेषणा गरी आन्दालन सुरु गरेका थिए । यो क्रममा भक्तपुरमा फागुन ८ गते जुलुश निस्केको थियो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुश नगर परिक्रमा गर्दै टौमढीमा पुग्दा भीड थामिनसक्नु भएको थियो । यही भीडमा प्रहरीले गोलीको वर्षा गर्दा घटनास्थलमै भक्तपुरका राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भयो । 
नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका तत्कालिन अध्यक्ष एवं घटनाका प्रत्यक्षदर्शी रवीन्द्र खर्वुजाले विहान पाँैने नौ बजेतिर अन्धाधुन्ध गोली चलाइएको स्मरण गरे । जुलुश टौमढी पुग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि विना चेतावनी गोली चलाइएको र टौमढीमा घटनास्थलमै दुई जना शहीद भएको उनले सुनाए । 
‘यहाँं दिउँंसो १२ साढे १२ बजेसम्म आन्दोलनकारी र प्रहरीवीच झडप भइरह्यो, उनले भने, ‘यही क्रममा यही दिन टौमढी नजिकैको त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि पनि गोली लाग्यो र निधन भयो ।’ जनआन्दोलन २०४६ को क्रममा देशैभर आन्दोलन हुँंदा भक्तपुरको टौमढीमा पहिलो पटक गोली चलाइएको जनाइएको छ । जनआन्दोलन २०४६ को क्रममा भक्तपुरका यी चारसहित पुष्परत्न शाक्य र महेश श्रेष्ठ पनि सहीद भएका थिए । साथै त्यही आन्दोलनको क्रममा भक्तपुरमा तीन दर्जन बढी घाइते भएका थिए ।  
यही दुखद् घडीको सम्झनामा भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष फागुन ८ गते शहीदको सम्झनामा शहीद दिवस मनाउँंदै आएको छ । भक्तपुर नगरपालिका वडा नं २ स्थित भक्तपुरका यी ६ जना शहीदहरुको सम्झना र सम्मानमा बनाइएको शहीद स्मृति उद्यानमा शहीदहरुको शालिकमा माल्यापर्ण गरी शहीद दिवस मनाउँंदै आएको छ । उद्यान झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानको वीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट शहादत प्राप्त शहीदहरु राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य,  कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना शहीदहरुको संयुक्त शालिकमा माल्यापर्ण गरिन्छ । 
प्रजातन्त्र पुनस्थापनाका लागि नेपालमा २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । ३९ दिन लामो जनआन्दोलनपछि २०४६ चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनस्थापना भएको थियो । यस क्रममा देशभरका १४ जिल्लाका ४१ जना शहीद भएका थिए । 
नेपालमा २००७ साल फागुन ७ गते राणा शाशणको अन्त भई पहिलो पटक प्रजातन्त्र आएको थियो । त्यसपछि फेरि २०४६।०४७ सालमा दोश्रो जनआन्दोलन भई दोश्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो । यसपछि २०६२।०६३ मा तेश्रो जनआन्दोनल भई २०६३ वैशाख ११ बाट नेपालमा गणतान्त्रिक व्यवस्था लागू भएको थियो ।  

Comments