उदय साकोसको एक दिवसीय सहकारी क्षमता अभिवृद्धि तालिम सम्पन्न
माघ २१, २०७९, शनिबार | दिउँसो ०२:५० बजे | 80
भक्तपुर, माघ २१। उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष न्हुछे बहादुर प्रजापतिले संस्थाको विनियममा भएको काम कर्तव्यको जानकारी दिँदै लक्षित समूहलाई केन्द्रित गरेर अन्य आवश्यक तालिम संचालन गर्ने बताउनुभयो । सोही कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले तालिमको अाैचित्य, उपलब्धि र संस्थाको आर्थिक अवस्थाको जानकारी दिँदै संस्थाको प्रगति प्रतिवेदन लगायत अन्य प्रकाशन अध्ययन गर्न जोड दिनभयो । उक्त तालिममा इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका संचालक तथा रामकोट साकोसका उपाध्यक्ष राजकुमार श्रेष्ठले सहकारीको परिचय, विश्व र नेपालको सहकारी इतिहास तथा अन्य व्यवसायमा भएको फरकता लगायत संचालक र व्यवस्थापन बीचको अन्तर सम्बन्ध बारे प्रशिक्षण दिँदै संस्थालाई सबल बनाउन प्रविधिलाई ध्यानमा राखेर तालिमहरु संचालन गर्न सुझाव दिनुभयो । सोही तालिममा संस्थाका कानुनी सल्लाहकार सजन प्रधानले समग्र सहकारीको एेन नियम तथा विनियमका बारेमा प्रशिक्षण दिनुभयो । उक्त तालिममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष उत्तम सापकोटाले शेयर, बचत, ऋण, पल्र्स व्यवस्थापन लगायत आधारभूत वित्तीय विश्लेषण तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभयो । अन्तक्रिर्यात्मक रूपमा संचालन भएको सो तालिममा संस्थाका संचालक समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्य गरी ३५ जनाको उपस्थिति रहेको छ । संस्थाका प्रबन्धक पूण्यराम गोसाइँले संचालन गरेको सोही तालिममा विभिन्न उपसमितिका सदस्यहरू राम सुन्दर कुसी, कमला प्रजापति लगायतले बोलेका थिए ।