सुरुमै क्यान्सर पत्ता लगाउन के गर्ने ?


माघ २१, २०७९, शनिबार | विहान ०३:०३ बजे | 15


सुरुमै क्यान्सर पत्ता लगाउन के गर्ने ?

रोशन थापा (नाम, थर परिवर्तन) सुरुमा ग्यास्टिकको जस्तो समस्या देखिएपछि पटक–पटक उपचार गर्न विभिन्न अस्पताल पुगे। उनी जतिपटक अस्पताल पुगे त्यतिपटक नै चिकित्सकले ग्यास्टिकको औषधि दिएर पठाए। तर उनको पेटमा क्यान्सर रहेछ। क्यान्सर छिप्पिएर चौथो चरणमा पुगेको रहेछ। यतिबेला उनी भक्तपुर क्यान्सर अस्पतालको प्यालियटिभ केयरमा उपचार गराइरहेका छन्। नियमित चिकित्सकको सम्पर्कमा रहे पनि ढिला मात्र क्यान्सर पहिचान भएपछि उनको चिकित्सकसँगै गुनासो छ। ‘डाक्टरले पनि समयमै किन पत्ता लगाएनन्’, ती बिरामीको गुनासो सुनाउँदै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक विष्णुदत्त पौडेलले भने।  

नेपाल क्यान्सर अस्पतालमा उपचारार्थ ८० वर्षीया एक महिला नाम चलेका चिकित्सककी दिदी हुन्। उनी यतिखेर पाठेघरको मुखको तेस्रो तहको क्यान्सरको सामना गरिरहेकी छिन्। बुढ्यौलीसँगै उनले पाठेघरको नियमित जाँच गर्न छोडेकी थिइन्। नियमित जाँच गर्न छोडेकै अवधिमा उनको पाठेघरको मुखमा क्यान्सर भएको उपचारमा संलग्न गाइनो अन्कोलोजिस्ट डा. अन्जु श्रेष्ठले बताइन्। नेपाल क्यान्सर अस्पतालमै उपचारार्थ ५५ वर्षीया अर्की महिला अहिले फोक्सोको क्यान्सरसँग लडिरहेकी छिन्। उनी चर्चित गायककी पत्नी हुन्। स्वास्थ्य सेवाको पहुँचमा भएर पनि यी नियमित स्वास्थ्य जाँच नगरेका कारण यी दुवै महिलाले अहिलेको स्थिति झेल्नुपरेको डा. श्रेष्ठको तर्क छ।

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। क्यान्सर तेस्रोदेखि चौथो तहमा पुगेको अवस्थामा अस्पताल पुग्ने धेरै छन्। विकसित देशहरूमा कुनै पनि क्यान्सर सुरुमै पहिचान हुन्छ। नेपालमा भने अहिले पनि ५० प्रतिशतभन्दा बढी क्यान्सर तेस्रो या चौथो चरणमा पुगेपछि मात्र पत्ता लाग्ने गरेको चिकित्सक बताउँछन्। डा. श्रेष्ठका अनुसार ५० प्रतिशतभन्दा बढी क्यान्सरका बिरामी रोग छिप्पिसकेको अवस्थामा उपचारका लागि अस्पताल पुग्छन्।  

पाठेघरको मुखकोबाहेक नेपालमा फोक्सो, स्तन, आमाशय, ठुलो आन्द्रा र मुखको क्यान्सरपीडित धेरै छन्। ‘५० प्रतिशतभन्दा बढी क्यान्सर रोगी ढिलो उपचारमा पुग्छन्, जतिबेला उपचारले निको हुँदैन,’ भक्तपुर क्यान्सर अस्पतालका निर्देशक तथा अन्कोलोजिस्ट डा. पौडेलले भने।  

पाठेघरको मुख र स्तन क्यान्सर केही छिटो पत्ता लागे पनि अन्य भागको क्यान्सर पहिचान ढिलै मात्र हुने गरेको नेपाल क्यान्सर अस्पतालका अन्कोलोजी सर्जरी विभाग प्रमुख डा. कपेन्द्रशेखर अमात्य बताउँछन्।

ग्लोबोक्यानको २०२० मा प्रकाशित प्रतिवदेनअनुसार सन् २०२० भित्र नेपालमा २० हजार ५ सय ८ जना क्यान्सरका नयाँ रोगी पत्ता लागेकोमा १३ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो। पुरुषमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी फोक्सोको १८ प्रतिशत, पेटको १०.९ प्रतिशत र आन्द्राको ६.९ प्रतिशत छ। महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर १९.४ प्रतिशत, स्तन १७.१ र फोक्सोको ७.६ प्रतिशत छ। सन् २०१८ भित्र २६ हजार १ सय ८४ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेका थिए। तीमध्ये १९ हजार ४ सय १३ जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो एक अर्को तथ्यांकअनुसार नेपालमा वर्सेनि ३० देखि ४० हजार नयाँ क्यान्सरका बिरामी पत्ता लाग्ने गरेका छन्।  

चुरोट, खैनी, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग, आरामदायी जीवनशैली, जंकफुड, प्रशोधित खाना र प्रदूषित वातावरणका कारण पछिल्ला वर्षमा नेपालमा क्यान्सर रोगी बढ्दै गएको चिकित्सक बताउँछन्। क्यान्सर वंशाणुगत कारणले हुने भए पनि मूल कारण भने गलत जीवनशैली भएको चिकित्सकको भनाइ छ। नेपालमा ढिला मात्र क्यान्सर पहिचान हुनुमा सबै पक्ष उत्तिकै जिम्मेवार रहेको चिकित्सक बताउँछन्।

सुरुकै चरणमा उपचार पाए क्यान्सर पूर्ण रूपमा निको हुन्छ। सुरुको चरणमा क्यान्सर पत्ता लागेमा शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापीलगायत अन्य उपचार विधि प्रयोग गरी निको पार्न सकिन्छ। तर धेरैजना क्यान्सर छिप्पिसकेको अवस्थामा मात्र अस्पताल पुग्छन्। किन यस्तो हुन्छ त ?  

जनचेतनाको कमी  

नेपालमा जनचेतनाको कमीका कारण धेरैजसोले नियमित स्वास्थ्य जाँच गराउँदैनन्। यसले गर्दा बैलैमा रोग थाहा नहुने गरेको चिकित्सक बताउँछन्। विभिन्न अभियानअन्तर्गतका जनचेतनाका कारण स्तन तथा पाठेघरको मुखको क्यान्सरमा जागरण आए पनि अन्य क्यान्सर ढिलागरी पत्ता लाग्ने गरेको छ। वर्षमा एकपटक स्वास्थ्य जाँच गरेमा कुनै पनि क्यान्सर सुरुमै पहिचान हुने चिकित्सक बताउँछन्। तर आममानिस नियमित स्वास्थ्य जाँच गराउँदैनन् र गम्भीर समस्या नभएसम्म अस्पताल पुग्दैनन्। अरूलाई जस्तै आफूलाई पनि क्यान्सर हुन सक्छ भन्ने चेतना अभावले धेरैजसो ढिलोगरी उपचारमा आउने गरेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. पौडेल बताउँछन्।

एकातिर समय–समयमा स्वास्थ्य परीक्षण नगर्नु र अर्कोतिर क्यान्सरका कारक तत्वहरूको बढी प्रयोगले पनि यो रोग फैलिरहेको उनको भनाइ छ। ‘अहिले पनि धूमपान, सुर्ती तथा गुट्खा खाने धेरै छन्, धूमपानविरुद्धको कानुन कडाइका साथ कार्यान्वयन हुन सकेको छैन’, उनले भने। सुरुमा क्यान्सर नदुख्ने र गम्भीर लक्षण पनि नदेखिने भएकाले धेरैलाई यसको जाँच गर्नुपर्छ भन्ने जानकारी नभएको चिकित्सकको भनाइ छ।  

स्वास्थ्यकर्मीको पनि कमजोरी  

सुरुमा कुनै न कुनै लक्षण लिएर बिरामी नजिकको स्वास्थ्य संस्थामा पुग्छन्। तर ती बिरामीलाई औषधि मात्र दिएर पठाउने गलत अभ्यासले पनि नेपालमा ढिलो मात्र क्यान्सर पत्ता लाग्ने गरेको चिकित्सकको भनाइ छ। नेपालमा धेरैजसो पेट र फोक्सोको क्यान्सरमा चिकित्सक पनि झुक्किने गरेको उनीहरू बताउँछन्। ‘नेपालमा धेरैजसोमा क्षयरोेग हुन्छ, यही अनुमान गरी क्षयरोगको उपचार गरेको देखिन्छ तर बिरामीमा क्यान्सर छिप्पिसकेको हुन्छ’, निर्देशक पौडेलले भने।

कुनै पनि स्वास्थ्य संस्थामा पुगेका बिरामी एकपटकको उपचारले निको नभए एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, सिटिस्क्यान, पाठेघरको मुखको पानी, अन्य अंगहरूको मासुको जाँच, कोलोनोस्कोपी जस्ता जाँच गरी क्यान्सर वा अन्य रोग के हो भन्ने पहिचान गर्न स्वास्थ्यकर्मी पनि चुक्ने गरेको डा. अमात्य बताउँछन्। ‘नेपालमा धेरै खर्च हुने जाँच गर्नभन्दा हुने आलोचनाबाट पनि चिकित्सक त्रसित देखिन्छन्’, उनले भने।

एउटै समस्या बताएर पटकपटक औषधि किनेर सेवन गर्ने बिरामीप्र्रति फार्मेसिस्ट पनि सजग हुनुपर्छ। त्यस्ता बिरामीलाई औषधि पसलेले उचित चिकित्सक र अस्पतालमा गएर जचाउन सल्लाह दिने अभ्यास पनि नेपालमा कम छ। यसकारण पनि रोग पहिचानमा विलम्ब हुने गरेको चिकित्सक बताउँछन्। चिकित्सकले एउटै समस्या लिएर पुगेका बिरामीलाई सोझै औषधिको भरमा उपचार गर्ने व्यवहारले पनि क्यान्सर ढिला पत्ता लाग्ने गरेको निर्देशक पौडेल बताउँछन्। ‘खोकी लागेर दुब्लाएका बिरामीलाई धेरै चिकित्सकले क्षयरोगको औषधि दिएको र पेट दुखेकालाई ग्यास्टिकको औषधि दिएको देखिन्छ। यो चिकित्सकबाट हुने कमजोरी हो’, पौडेलले भने, ‘हरेक बिरामीलाई क्यान्सर हुन सक्छ भन्ने आशंकामा चिकित्सकले खोजप्रक्रिया अघि बढाउने हो भने कुनै पनि क्यान्सर छिप्पिन पाउँदैन।’

आर्थिक विपन्नता

नेपालमा अहिले पनि सबै जनताको पहुँचमा सबै तहको स्वास्थ्य सेवा पुगेको छैन। स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्रका भरमा स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ। गाउँ या सहर दुवै स्थानमा बहुसंख्यक नेपालीसँग उपचारका लागि पर्याप्त आयस्रोत पनि छैन। आर्थिक विपन्नताका कारण पनि नियमित स्वास्थ्य जाँच नगराउने धेरै छन्।  

सुरुमै क्यान्सर पत्ता लगाउन के गर्ने ?  

चिकित्सकका अनुसार हरेक व्यक्तिले आफूलाई क्यान्सर हुन सक्छ भन्ने सोचेर स्वास्थ्य जाँच गराउनुपर्छ। स्वास्थ्य जाँचमा क्यान्सरतर्फ पनि ध्यान दिनुपर्छ। ३० वर्ष पार गरेका हरेक महिलाले वर्षमा एकपटक अनिवार्य रूपमा पाठेघरको जाँच, प्याप स्मेयर गर्ने या भिडियो एक्सरे गरेमा सुरुकै चरणमा क्यान्सर थाहा हुन्छ। पाँच वर्षपछि हुन सक्ने क्यान्सरको पहिचान एचपिभी डिएनए परीक्षणबाट गर्न सकिन्छ। हरेक पाँच वर्षमा यो परीक्षण गर्दा सुरक्षित हुन सकिन्छ।

हरेक महिलाले महिनावारी भएको एक सातापछि स्तन जाँच गनेै र गिर्खा भेटिएमा मेमोग्राम गर्नुपर्छ। हरेक व्यक्तिले वर्षमा एकपटक क्यान्सरको जाँच गर्ने, यसका लागि भिडियो एक्सरे, सिटिस्क्यान, कोलोनोस्कोपी, इन्डोस्कोपी, एक्सरे, पेटस्क्यान, एमआरआई, आशंका गरिएको भागको मासु परीक्षण, रगत परीक्षण गर्दा कुनै पनि अंगको क्यान्सर सुरुमै पत्ता लगाउन सकिन्छ। क्यान्सर रोग पहिचान तथा उपचार सेवा सबैको पहुँचमा पुग्नेगरी विस्तार गनुर््पर्ने डा. पौैडेल बताउँछन्। सरकारले सबै प्रदेशमा क्यान्सर अस्पताल विस्तार गर्नुपर्छ।

क्यान्सर पहिचान हुनेगरी स्वास्थ्य सेवाको संरचनात्मक व्यस्थापन हुनुपर्ने डा. अमात्य बताउँछन्। ‘विकसित राष्ट्रहरूमा हरेक वर्ष नागरिकको क्यान्सर तथा अन्य रोगको जाँच अनिवार्य हुन्छ, त्यसले गर्दा पहिलो या दोस्रो चरणमै क्यान्सर पत्ता लाग्छ’, उनले भने। स्थानीय स्वास्थ्य संस्थामा पुगेका नागरिकलाई हरेक वर्ष क्यान्सरको जाँच हुनेगरी सिफारिस गर्ने, क्यान्सर जाँच तथा उपचारका लागि आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्था सबै स्वास्थ्य संस्थामा गर्नुपर्ने पनि उनी बताउँछन्। सरकारको अहिलेको आधारभूत स्वास्थ्य सेवाभित्र क्यान्सर जाँच समावेश भएमा पनि छिटो पत्ता लगाउन सकिने नेपाल क्यान्सर अपतालकी गाइनो अन्कोलोजिस्ट डा. श्रेष्ठको सुझाव छ। ‘होलबडी चेकअप’ भित्र पाठेघरको मुखको क्यान्सर जाँच पनि समावेश हुनुपर्ने उनी बताउँछिन्।  

गम्भीर स्वास्थ्य समस्या लिएर पुगेका बिरामीको रोग पहिचानका लागि हरेक अस्पतालमा सामूहिक चिकित्सक छलफल विधि लागू भएमा पनि धेरै क्यान्सर समयमै पत्ता लाग्ने डा. अमात्यको सुझाव छ। जुन अभ्यास नेपाल क्यान्सर अस्पतालमा रहेको उनको दाबी छ। पाठेघर र स्तन क्यान्सरबारे सचेतना बढे पनि अन्य क्यान्सरका सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन र विस्तार गर्नुपर्ने चिकित्सकको सुझाव छ। कम शुल्क तिरेर गरिने स्वास्थ्य परीक्षणबाट पनि क्यान्सर पत्ता लगाउन सकिने जानकारी आमनागरिकलाई गराउनुपर्छ। स्थानीय तहका स्वास्थ्य स्वयंसेविका, प्यारामेडिक्स, फार्मेसिस्ट, चिकित्सक सबैलाई क्यान्सरसम्बन्धी आधारभूत तालिम दिएर पनि जनचेतना जगाउन सकिने डा. अमात्यको सुझाव छ।

Comments