मस्तिष्क पक्षाघात तथा अपाङ्गताको लागि जागरण गीत ः“आउ साथी एउटा खुसीको दियो बालौं”
माघ १६, २०७९, सोमबार | दिउँसो ०३:२६ बजे | 35
काठमाडौं माघ १७÷स्टुडियो साउण्ड मिलले गीतकार तथा समाजसेवी नरेश प्रधानको सहकार्यमा मस्तिष्क तथा अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानको लागि जनचेतना जगाउने उदेश्यले “आउ साथी एउटा खुसीको दियो बालौं” बोलको जागरण गीत बजारमा ल्याएको छ ।
नेपालका वरिष्ठ एवं चर्चित गायकहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतको स्वर भरेको सो गीतको रचनाकार नरेश प्रधान र संगीत वरिष्ठ संगीतकार शक्ति बल्लभ रहेको छ । सो गीतको मिक्सिङ्ग र मास्टरिङ्ग वरिष्ठ साउण्ड इन्जिनीयर महेश्वरमान राजभण्डारीले गर्नुभएको छ ।
म्युजिक भिडियोसहित तयार गरिएको यस गीतको प्रबद्र्धन कार्यक्रम मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह, नेपाल धापाखेलले गीति मेलाको आयोजना गरी मस्तिष्क पक्षाघात तथा अपाङ्गता भएका ब्यक्तिहरुले नृत्य मार्फत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले जागरण गीत र प्रस्तुतिको प्रशंसा ब्यक्त गर्नुका साथ अभियानलाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।
उक्त म्युजिक भिडियोमा उशा रजत, रश्मी भट्ट, सुन्दर धिताल, रक्षा थापा, प्रिन्स प्रसिद्ध सिंह थापा, विकास रिमाल आदिले अभिनय प्रदर्शन गरेका थिए । स्टुडियो साउण्ड मिलका प्रबन्ध निर्देशक बुनु श्रेष्ठका अनुसार म्युजिक भिडियोको निर्देशन मोहन राई र नारायण खतिवडाले गर्नुभएको थियो । मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पनामा ल्याइएको उक्त गीतबाट मस्तिष्क पक्षाघात तथा अपाङ्गता भएका ब्यक्तिहरुमा उर्जा प्रदान हुने अपेक्षा गरिएको छ ।