भक्तपुरका २४ उत्कृष्ट प्रहरी पुरस्कृत, सात जना कारबाहीमा
माघ १६, २०७९, सोमबार | विहान ११:१० बजे | 35
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरु र प्रभागहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरीहरु पुरस्कृत भएका छन् । उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई भक्तपुरमा पुरस्कृत गरिएको हो । उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमासमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसंग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागू औषध नियन्त्रण एवं पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो । प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षकसहित १३ जना, प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षकसहित ५ जना र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायब निरीक्षकसहित ६ जना गरी कुल २४ जना प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् । साथै, यस आर्थिक बर्षमा प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारवाही समेत गरिएको छ ।