भक्तपुरका तीनजना कुष्ठरोगीहरु भक्तपुर नगरका होइनन् ः डा लासिवा


माघ १५, २०७९, आइतबार | विहान ११:०५ बजे | 25


भक्तपुरका तीनजना कुष्ठरोगीहरु भक्तपुर नगरका होइनन् ः डा लासिवा

भक्तपुर । भक्तपुर जिल्लाभरिमा तीनजना कुष्ठरोगी रहेको जनाइएको छ । ७० औ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो । 
भक्तपुरको भक्तपुर नगरपालिका क्षेत्रमा ती कुष्ठरोगी रहेको कार्यक्रममा बताइयो । जिल्लाको मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्र भने कुष्ठरोगीविहीन भएको कार्यक्रममा जनाइयो । 
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरलाई कुष्ठरोगविहीन जिल्ला बनाउने प्रयास भइरहेको बताए । तथापि हाल तीन जना कुष्ठरोगीहरु बाँंकी रहेको उनले जनाए ।
कार्यक्रममा सहभागी ख्वप अस्पतालका प्रमुख डा रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती तीनजना कुष्ठरोगीहरु स्थानीय नभएको बताए । उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए । खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए । यस अर्थमा भक्तपुर कुष्ठरोगीविहीन जिल्ला भएको उनको भनाई थियो । 
आर्थिक वर्ष २०७८÷०७९ को पछिल्ले विवरण अनुसार नेपालमा नयां संक्रमितको संख्या दुई हजार दुई सय ८५ छन् भने दुई हजार तीन सय ७३ जना उपचारको क्रममा छन् । सन् २०१० मा नेपालबाट कुष्ठरोगको ‘निवारण’ भयो भनेर घोषणा गरिएको थियो । यद्यपि प्रत्येक वर्ष २ देखि ३ हजारको संख्यामा नयाँ संक्रमित भेटिने गरेको तथ्याङ्कले देखाउँछ ।
छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु (नशा) सुन्निने,      छालामा नदुख्ने, नचिलाउने गिर्खा देखापर्ने, हातगोडा झमझम गर्ने, हातगोडा लाटो हुने, पोलेको थाहा नहुने, शरिरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरिरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हातगोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरु हुन् । 
सन् २०२१ को तथ्यांकअनुसार विश्वभरमा एक लाख ३३ हजार सात सय ८१ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका थिए, जसमध्ये धेरै संक्रमण भारत, ब्राजिल तथा इन्डोनेसियामा       (७४%, स्रोत ः विश्व स्वास्थ्य संगठन) भेटिएको जनाइउको छ । छिमेकी राष्ट्र भारतमा यसको ठूलो प्रभाव रहेकाले पनि नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मूलन चुनौतीपूर्ण रहेको बताइन्छ । 
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । यसले मुख्यगरी छाला, स्नायु     (नसा) तथा मांसपेसीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा ,कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ । कुष्ठरोग पनि  क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्दछ । त्यसैले परिवारमा अथवा नजिकको छिमेकमा कसैलाई यो रोग लागेको छ भने अर्को सदस्यमा सर्ने सम्भावना बढी हुन्छ । उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग संक्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन ।

Comments