साँंखु मेला सुरु


पुष २२, २०७९, शुक्रबार | विहान ०६:३६ बजे | 0


साँंखु मेला सुरु

काठमाडौ । काठमाडौंको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ । ब्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको थियो । प्रत्येक वर्षजसो व्रत सुरु हुनु अघिल्लो दिन यसरी नै चिभ्वय नेयगु कार्यक्रम हुन्छ । व्रस्त वस्ने महिलाहरुले एक महिनासम्म नुन खान नहुने भएकाले व्रत सुरु हुनु अघिल्लो दिन यसरी नुन भोज खाने परम्परा छ । 
यसअघि मेलाको एक हप्तादेखि नै ब्रतालुले पूजा पाठ सुरु गरेका थिए । यो व्रतलाई कठिन व्रत मानिन्छ । व्रतालुले एक छाकमात्र खान्छन् । जुत्ता चप्पल नलगाई पैदल हिँड्नुपर्ने व्रतविधि छ । यो बेला व्रतालुले सात्विक भोजन गर्छन् । व्रतको बीचमा गर्नुपर्ने परदेश यात्रामा पनि जुत्ता चप्पल नलगाई खाली गोडा पैदल यात्रा गर्नुपर्छ । यो यात्रा साँखु शालिनदी क्षेत्रबाट बज्रयोगिनी, पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिन्छ । नुन खान नहुने, हिडडुल गर्दा जुता नलगाई खाली खुटा हिडनुपर्नेलगायत कारण यो ब्रतलाई कठिन अनि कठोर ब्रत मानिन्छ । 
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले ब्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाए । ब्रतस्थललाई थप व्यवस्थित पार्न शालिनदी मन्दिर परिसरमा सरसफाईसमेत गरेको उनले जानकारी गराए । 
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना लाग्ने मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुने छ । यो वर्ष तीसदेखि ३५ लाखले मेला अवलोकन गर्ने अपेक्षा राखिएको छ । यति संख्यामा शङ्खरापुर नगरपालिकास्थित शालिनदीमा बाह्य तथा आन्तरिक हिन्दुधर्मावलम्वीले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको जनाइएको छ । अहिले यो ब्रत पौराणिक मान्यतामा आधारित यो व्रत एवं मेला राष्ट्रिय महत्व र गौरवको विषय बनेको छ । 
मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने जनाएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको जनाएको छ । मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनुका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने जनायो । 
मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण श्रेष्ठ अध्यक्ष बनेको कार्यक्रममा संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिए ।
साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ । त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको विश्वास छ । 
मेला क्षेत्रमा प्लाष्टिक निषेधित गरिएको छ । मेलाका लागि नगरपालिकाले बजार अनुगमनको जिम्मेवारी लिएको समितिका पूर्वअध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । मेलाका लागि आवश्यक अन्य सहयोग पनि नगरपालिकाले गर्ने वचन दिएको उनको भनाइ छ ।
मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।
स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ । साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ ।

Comments