हातमा सीप भएको व्यक्ति कहिल्यै भोको रहँदैन
पुष २०, २०७९, बुधबार | विहान ०६:२६ बजे | 5
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आधारभूत सिलाइ, बुटिक, पाक शिक्षा र हेयर कटिङसम्बन्धी तालिमको संयुक्त रुपमा बुधबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नगरबासी जनतालाई सीपयुक्त बनाउन वर्षेनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मानलगायतका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
हामीले हाम्रो उद्देश्य स्पष्ट बनायौं भने आफ्नो लक्ष्य प्राप्त गर्न सहज हुने बताउनुहुँदै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति कहिल्यै भोको रहँदैन, समाजमा स्वाभिमानी र आत्मनिर्भर बन्न सक्छन् भन्नुभयो ।
श्रमलाई माया र सम्मान गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले श्रमलाई माया गर्नेहरुलाई समाज र परिवारले पनि इज्जत दिन्छ भन्दै सिक्न र सिकाउने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले गरेको फरक शैलीको काम नै ख्वप मोडलको रुपमा परिचित भएको बताउनुहुँदै भक्तपुरलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न नगरपालिका तत्परताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले आफूले सिकेको तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुहुँदै जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यले यी तालिमहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।
त्यस्तै कार्यपालिका सदस्य रोशनमैंया सुवालले तालिमका प्रशिक्षार्थीहरुलाई नियमित रुपमा तालिममा सहभागी भई आफूले सिकेको सीप देश र समाजको निम्ति प्रयोग गर्न प्रेरित गर्नुभयो । तालिममा आवेदन दिएका सबैलाई तालिममा सहभागी गराएको बताउँदै उहाँले आफू तालिम प्राप्त गरी आत्मनिर्भर हुन्छु भन्ने भावनाले काम गर्न हौसला प्रदान गर्नुभयो ।
कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य छोरीमैंया सुवालले गर्नुभएको थियो भने वडा सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य दिनुभएको थियो ।