जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्दै भक्तपुर नगरपालिका
पुष १५, २०७९, शुक्रबार | विहान ११:०१ बजे | 30
भक्तपुर, पुष १५ । स्वस्थ शरीरले स्वस्थ दिमाग प्रदान गर्दछ । स्वस्थ शरीरले स्वस्थ समाजको निर्माण गर्दछ । जनताको स्वास्थ्य प्रति सजक हुँदै भक्तपुर नगरपालिकाले स्वास्थ्य शिविर गरिरहेको छ । श्वासप्रश्वासमा प्रक्रिया बढ्दो उमेर सँगै विभिन्न प्रकारको स्वास्थ्य समस्या देखा पर्दछ । यसैलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले १० वटै वडामा स्वासप्रस्वास सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने र ख्वप अस्पतालसँगैको स्वासप्रस्वास पुनःस्थापना केन्द्रमा फिजियोथेरापीको लागि सहजीकरण गर्ने उद्देश्य राखेको छ। भनपा १० वडा कार्यालयबाट सुरु भएको उक्त शिविर ९ वडाले शुक्रबार वाकुपति नारायण स्थानमा भक्तपुर नगरपालिकाले ख्वप अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न गरेको छ । उक्त शिविरमा भनपा ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले जाडो माैसममा जेष्ठ नागरिकलाई हुने स्वासप्रस्वास सम्बन्धी समस्या पहिचान गरि आवश्यक परामर्श दिन भक्तपुर नगरपालिकाले १० वटै वडामा स्वासप्रस्वास सम्बन्धी शिविर संचालन हुने बताउनुभयो । उहाँले उक्त शिविरमा स्वासप्रस्वास, दमखोकीको समस्या पहिचानको लागि स्पाईरोमेट्री मार्फत सास तान्न र छोड्न सक्ने क्षमताको परिक्षण गरेको बताउँदै १० गतेदेखि १०, ३ र ९ वडामा वडागत निःशुुल्क शिविर संचालन भइरहेको बताउनुभयो । ख्वप अस्पतालका जनरल मेडिकल फिजिसियन डाक्टर बालकृष्ण चांगुभारीले उक्त शिविरमा ६० वर्ष पूरा भएका नागरिकको दम खोकी रोगीको सुरुवाती अवस्था पत्ता लगाई फिजियोथेरापीको सहजीकरणका लागि स्वासप्रस्वास पुनःस्थापना केन्द्रमा सम्पर्क राख्न सकिने बताउनुभयो । उक्त शिविरमा परिक्षणको लागि आउनुभएको स्थानीय टोल त्वचा का ७६ वर्षीय जेष्ठ नागरिक पूर्णलक्ष्मी प्रजापतिले भक्तपुर नगरपालिकाले संचालन गरेको निःशुुल्क शिविरको प्रशंसा गर्दै दमको कारण खोकीको समस्याले पहिलोपटक परिक्षण गरेको बताउनुभयो । त्यस्तै जेला निवासी ६४ वर्षका कृष्णराम बोहजूले भक्तपुर नगरपालिकाले यस्ता स्वास्थ्य शिविरहरू समयसमयमा गरेमा अस्पतालमा परिक्षणको लागि हुने भीडभाड, असहजतालाई न्यून गर्ने अनुभव उक्त शिविरमा सुनाउनुभयो । उक्त शिविरमा वडाका जनप्रतिनिधि, कर्मचारी, वडा महिला स्वास्थ्य स्वयम् सेवीका, ख्वप अस्पतालका डाक्टर तथा नर्सहरुले वडाका नागरिकको स्वास्थ्य परिक्षणको लागि सहजीकरण गरेको छ । भक्तपुर नगरपालिकाकाे ७,८,९ र १० वडाका १३७ जनाले परिक्षण गराएको सो शिविरमा ४३ वर्ष देखि ८९ वर्षका लक्ष्मी प्रजापति लगायतले आफ्नो स्वासप्रस्वास अवस्था बारे सचेत भएका छन् ।