किन गरिन्छ बेल विवाह ?


मंसिर २७, २०७९, मङ्गलबार | दिउँसो १२:५० बजे | 35


किन गरिन्छ बेल विवाह ?

भक्तपुर । नेवार समुदायमा कन्या कुमारी पहिलो महिनावारी नहुँंदै बेल विवाह गर्नुपर्छ । यसकारण साधारणतया पाँंचदेखि नौ वर्षकोवीचमै बेलविवाह गरिन्छ । यही अनुसार भक्तपुुरको याछेंमा मंगलबार ५९ बालिकाहरुको सामूहिक बेलबिबाह कार्य सुरु भएको छ । परम्परा अनुसार विवाह कार्य बुधबार सम्पन्न हुनेछ ।
बेलविवाहको पहिलो दिन दुस्वः (भित्रिने) हुने गर्दछ । ‘यो दिन के हुन्छ भनेर सारमा भन्नुपर्दा अव तिमी बालिका रहनौं । ठूली भइसक्यौं । त्यसकारण तिमीले अव ठूलो उमेरमा यस्तोयस्तो काम व्यवहार गर्नुपर्छ भन्ने सिकाउनु नै पहिलो दिन दुस्व हो, आयोजक समाज सेवा समिति याछें ६ भक्तपुरका सचिव राजाराम नापितले भने । उनका अनुसार पहिलो दिन बेलविवाहमा सहभागी सम्पूर्ण बालिकाहरुलाई बयस्क भएपछि गर्नुपर्ने काम व्यवहारबारे जानकारी गराइन्छ । यसबाहेक पनि दिनभरि अन्य विविध कार्यहरु पनि गरिन्छ । 
बेलविवाहको दोश्रो अर्थात् अन्तिम दिन भने पिस्वः (बाहिरिने) हुन्छ । यो दिन वेल विवाहमा सहभागी कन्याहरुबीच मित लगाउने प्रचलन छ । बिबाहमा सहभागी भएकाहरुमध्ये दुई कन्याबीच मित लगाउने गरिन्छ । मित लगाएपछि उनीहरुबीच जीवनभर सम्वन्ध रहन्छ । विवाह, ब्रतबन्धलगायतका सवै कर्महरुमा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रण गराई भोज खुवाउनेपर्ने चलन छ । यसरी उनीहरुलाई समाज बुझाउन सिकाउने गरिन्छ । 
इतिहास एवं सस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायस्थ वेलसँंग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्लेषण गर्छन् । भविष्यमा पतिको मृत्यु भए पनि बेलसँंग विवाह भएकाले उनी विधवा नहुने मानिने उनको कथन छ ।
नेवार समुदायमा महिलाहरुको तीन पटक विवाह हुने मान्यता छ । पहिलो महिनावारी हुनु अगावै बेलसँंग हुने बेलविवाह, दोश्रो सूर्यसँंग विवाह र अन्तिममा उमेर पुगेपछि पुरुषसँंग विवाह हुने मान्यता छ । नेवार समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ । बेल विवाह कर्ममा बालिकाहरु परिवारसहित विशेष पोशाकमा सजिसजाउ गरी सहभागी भएका हुन्छन् । 
नेवार समुदायमा बेलकर्मको ज्यादै महत्व छ । जोशी, आचार्य, शर्मालगायतबाट साइट देखाएर जुराएपछि वेलविवाहको मिति निश्चित गरी विवाह कार्य सम्पन्न गर्ने चलन छ । यो क्रममा बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गर्ने गरिन्छ । कन्यादान कार्यमा प्रत्येक वालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहने गर्दछ । 

Comments