यी हुन् भक्तपुरका गैरकानुनी सहकारी संस्थाहरु, रकम वचत नगर्न आग्रह


मंसिर २७, २०७९, मङ्गलबार | विहान ११:२१ बजे | 10


यी हुन् भक्तपुरका गैरकानुनी सहकारी संस्थाहरु, रकम वचत नगर्न आग्रह

भक्तपुर । भक्तपुरमा १२ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरू गैरकानुनी रहेकाे पाइएकाे छ ।
भक्तपुर नगरपालिकाले आफ्नाे नगर क्षेत्रमा १२ वटा सहकारीहरू गैरकानुनी रूपमा सञ्चालन गरी राखेको पाइएको जनाएकाे छ ।
बागमती प्रदेश सरकारले प्रदेशकै कानुनविपरीत आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ मा बहुउद्देश्यीय सहकारी संस्थाहरू दर्ता गरी भक्तपुर नगरपालिकाभित्र साइनबोर्ड राखी सञ्चालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई भक्तपुर नगरपालिकाभित्र सञ्चालन गर्न स्वीकृति नदिने भनी भक्तपुर नगरपालिकाको कार्यपालिकाको २०७८/०६/१४ गतेको बैठकको निर्णयअनुसार २०७८ कार्तिक ७ र ८ गतेको ‘मजदुर’ दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दासमेत १२ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरू गैरकानुनीरूपमा भक्तपुर नगरपालिकाभित्र सञ्चालन गरी राखेकाे नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
नगरपालिकाले भक्तपुरको च्याम्हासिंह, कमलविनायक, सल्लाघारी, सूर्यविनायकलगायतका स्थानमा गैरकानूनी रुपमा बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालनमा रहेको पाइएको भनेर गत वर्ष सूचना प्रकाशित गरेकाे थियाे ।
प्रकाशित सूचनामा गैरकानुनी रूपमा सञ्चालनमा रहेका सहकारीको नामावली समावेश थियाे । ती सहकारीहरूमा कमलविनायकस्थित वृत्ति विकास बहुउद्देश्यीय सहकारी संस्था लि, क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि, कमलविनायक,सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लि, देगइनास्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लि, अर्थलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि, च्याम्हासिंहस्थित अनुसेवक बहुउद्देश्यीय सहकारी, सूर्यविनायकको अर्थ सागर बहुउद्देश्यीय सहकारी संस्था लि, सम्बोधन बहुउद्देश्यीय सहकारी संस्था लि, घलाटेस्थित सानो संसार बहुउद्देश्यीय सहकारी संस्था लि र सल्लाघारीस्थित समपूरक बहुउद्देश्यीय सहकारी संस्था लि र अनमोल बहुउद्देश्यीय सहकारी संस्था रहेकाे उल्लेख गरेकाे थियाे ।
याे पटकको सूचनामा भने सहकारीको नाम उल्लेख गरिएकाे छैन ।


Comments