आज भक्तपुरको दतात्रयमा योमरी प्रदर्शन हुने
मंसिर २४, २०७९, शनिबार | विहान ०४:१७ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा आज भक्तपुरको दतात्रयमा योमरी प्रदर्शनी हुने भएको छ । नगरको दत्तात्रयमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म योमरी प्रर्दशनी गर्न लागेको हो ।
प्रदर्शनीमा प्रदर्शन गर्न चाहने नगरवासीहरुले योमरीको प्रदर्शन गर्ने छन् । नगरवासी परिवारले बनाएका योमरीका विभिन्न परिकारहरू प्रर्दशन गर्ने जनाइएको छ । प्रदर्शनीका क्रममा सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव र सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा पनि गरिने छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा प्रदर्शनी हुन लागेको हो । वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पर्यटन व्यावसायलाई आर्कषित गर्ने हेतुले योमरी प्रर्दशनी गर्ने भएको जानकारी गराए । त्यस क्रममा आन्तरिक तथा बाह्य पर्यटकसहित सहभागी गराई संध्याकालीन सास्कृतिक सम्पदा पदयात्रा गर्दै सांस्कृतिक महत्वको बोकेका सम्पदाहरू परिचय दिने कार्यक्रम रहेको उनले सुनाए ।
भक्तपुरको सम्पदा क्षेत्र घुम्ने योजनाका साथ यो कार्यक्रम राखिएको उनी सुनाउँछन् । योमरी प्रदर्शर्नीमा योमरी मात्र नभई नेवार समुदायमा बन्ने विभिन्न परिकारको प्रदर्शनी हुने उनले जनाए । स्थानीय महिला समूहलाई योमरीलगायत अन्य नेवार समुदायमा बन्ने विभिन्न परिकारहरू रहने उनले बताए । साथसाथै विभिन्न परम्परागत नाचहरूको प्रदर्शन गरिने योजना रहेको उनले सुनाए । भैल प्याख (नाच) माक प्याख, लाखे प्याख, फाकन्डली प्याख बासुरी बाजाको प्रस्तुति हुने उनले बताए । अन्तिममा राति नौ बाजाको प्रस्तुति गर्ने जनाइएको छ । साथै भक्तपुरको मौलिक जुजु धौ, परम्परागत तरिकाबाट उत्पादित तोरीको तेल र हातले तयार पारेको कालो टोपी अर्थात भातगाउँले टोपी पनि प्रदशनीमा राखिने जनाइएको छ । योमरी प्रदर्शनीको क्रममा योमरी बनाउनेदेखि लिएर योमरीबारे सम्पूर्ण जानकारीहरु दिने जनाइएको छ । भक्तपुरमा भएका आफ्नै परम्परागत पोशाक, खेल, बाजागाजा र खानेकुराको परिकारलाई व्यवसायिक रूपमा लान सक्ने बनाउने र यसैबाट जीविकोपार्जन गराउने कार्यक्रमको उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । भविष्यमा यहाँ बाह्य तथा आन्तरिक पर्यटकलाई नाइट स्टे को वातावरण सिर्जना गर्नु रहेको नगरपालिकाको भनाइ छ । यस्तो प्रर्दशनी निरन्तर गर्दै जाने योजना नगरपालिकाको छ ।
सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भक्तपुरको दरवार क्षेत्रबाट दिउँसो २ बजे सुरु हुने छ । त्यसपछि दिउँसो २ बजेदेखि बेलुकी सात बजेसम्म दतात्रयमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी र खाद्यान्न उत्सव हुने भएको हो ।
यसअघि आफ्नो मौलिकता झल्काएर छुटाछुटै तरिकाले योमरी बनाउनसक्ने स्थानीयले नाम दर्ता गरी प्रर्दशनमा आआफ्नो सहभागिता जनाउन नगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो ।