कर कार्यालयलाई सहयोग गर्न संघ सदैव तयार ः अध्यक्ष मानन्धर


मंसिर ६, २०७९, मङ्गलबार | दिउँसो ०१:१९ बजे | 15


कर कार्यालयलाई सहयोग गर्न संघ सदैव तयार ः अध्यक्ष मानन्धर

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्योगी तथा व्यापारी र आन्तरिक राजश्व कार्यालयबीच मध्यस्थताको रुपमा काम गर्न संघ सदैव तयार रहेको बताएका छन् । 
आन्तरिक राजश्व कार्यालय भक्तपुरले मंगलबार संघको सभाहलमा आयोजना गरेको करसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मानन्धरले जिल्ला व्यापारी तथा व्यापारीहरुलाई समयमै कर तिर्नको लागि अभिप्रेरित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘हामीले संघमा आबद्ध व्यापारी, व्यवसायीहरु मात्र होइन, जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई समेत समयमा कर तिर्दाको फाइदा बारे जानकारी दिँदै आएका छौं’, उनले भने । आगामी दिनमा पनि व्यापारी तथा व्यवसायीहरुले करमा जरिवाना तिर्न नपरोस् भन्ने हेतुका साथ आफूले तिर्नुपर्ने कर नियमानुसार राजश्व कार्यालयमा दाखिला गर्न उनले आग्रह गरे । 
उनले पछिल्लो समय बैंक ब्याजदर वृद्धिका कारण व्यापारी तथा व्यवसायीहरुलाई कर तिर्न समेत समस्या भइरहेको भन्दै बैंकहरुले व्यापारी व्यवसायीहरुको मर्कामा मध्यनजर गरी अविलम्ब ब्याजदर घटाउनुपर्ने माग गरे । भक्तपुर उद्योग वाणिज्य संघले ब्याजदर घटाउन माग गर्दै जिल्लाका सम्पूर्ण वाणिज्य बैंकका शाखा कार्यालयमा ज्ञापन पत्र बुझाएको जानकारी दिए । बैंकहरुले गरेको ब्याजदर वृद्धिले गर्दा अधिकांश व्यापारी व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले ब्याजदर वृद्धिकै कारण केही व्यापारी व्यवसायी डिप्रेसनको समेत सिकार बनेको बताए । 
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले समयमा कर नबुझाएका लाग्ने कर जरिवाना बैंक ब्याजदर भन्दा बढी भएका कारण समयमै कर बुझाउन अनुरोध गरे । उनले जिल्लाका व्यापारी तथा व्यवसायीसँग करसम्बन्धी अन्तरक्रियासँगसँगै अनुगमन कार्यलाई पनि निरन्तरता दिइरहेको जानकारी दिए । ‘अनुगमन गरेको प्रतिवेदन हप्तैपिच्छै बुझाउन विभागले हामीलाई निर्देशन दिएको छ’, उनले भने, ‘त्यसैले कर शिक्षासँगै अनुगमन पनि गर्दै आएका छौं, कर समयमा तिर्नु होला, आफ्नो व्यापार व्यवसायको लेखा दुरुस्त राख्नु होला।’ उनले कर प्रणालीमा आबद्ध हुन अझै पनि अधिकांश करदाताहरुमा समस्या भइरहेको भन्दै सो बारे प्रशिक्षित गर्न आन्तरिक राजश्व कार्यालय सधैं तयार रहेको बताए । 
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरकी कर अधिकृत अञ्जुकुमारी कर्णले कार्यपत्र प्रस्तुत गरेकी थिइन् कर अधिकृतद्वय हरि आचार्य र दिपक खनालले कुन शीर्षकको कर कहिलेसम्म तिर्ने र नतिरेमा लाग्ने जरिवानाका सम्बन्धमा जानकारी दिए । यसैगरी, संघका महासचिव दिनेश गोसाईं, भक्तपुर बन पैदावार व्यवसायी संघका अध्यक्ष राजु केसी, नेपाल कपास उद्योग व्यवसायी संघ भक्तपुरका अध्यक्ष माधव कुँवरलगायतले कर तिर्दा व्यापारी तथा व्यवसायीहरुले भोग्नुपरेको समस्याका बारे प्रकाश पार्दैै कर प्रणालीमा अझ सुधारको खाँचो रहेको बताए ।

Comments