स्वास्थ्यमा नमूना योग्य दाबी गर्दै ललितपुर १६ मा फिजियोथेरापी सञ्चालन
कार्तिक २६, २०७९, शनिबार | विहान १०:०९ बजे | 30
ललितपुर महानगरपालिका– १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले स्वास्थ्य क्षेत्रमा नमूनायोग्य वडा बनाउने योजना अनुरुप ईलाननीमा फिजियोथेरापी केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभएको छ । रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसंग मिलेर ईलाननीमा सञ्चालनमा ल्याइएको ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको शनिबार शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वडाअध्यक्ष शाक्यले फिजियोथेरापी सञ्चालन गर्ने तीन वर्ष अघिको सपना पुरा भएको बताउनुभयो।शाक्यले तीन वर्ष अघि स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा फिजियोथेरापी केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गर्नुभएको थियो । केन्द्रको स्थापनाले समुदायस्तरमा स्वास्थ्य सेवाको सहज पहुँच स्थापित हुने पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ। समारोहमा रचना रिहाबिलिटेशन सेन्टरका डा चन्द्रदीप महत्तोले केन्द्रमा हड्डी खिइएको, नशा च्यापिएको, मुख बांगिएको, जोर्नी दुख्ने, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, पोल्ने र सुस्त मनस्थिति भएका बालबालिकाको सहुलियत दरमा उपचार हुने जानकारी दिनुभयो । टोल सुुधार समितिको भवनमा चार शैय्यासहित फिजियोथेरापीका सामग्री राखेर केन्द्र सञ्चालनमा ल्याइएको हो।यसका लागि वडाबाट २० लाख रुपैयाँ विनियोजित गरिएको वडाले जनाएको छ । समितिका अध्यक्ष राज बज्राचार्यले स्वास्थ्य सेवाका पहुँच विस्तार गर्र्ने वडाको उद्देश्यलाई पुरा गर्न सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।सो अवसरमा वडा सदस्य बबिता श्रेष्ठ, वडा समितिका सल्लाहकार धर्मेन्द्र शाक्य लगायतले स्वास्थ्य सेवामा वडाले गर्दै आएको काम र अब गर्नुपर्ने कार्यमा केन्द्रीत गरी आआफ्नो धारणा राख्नुभयो।