ब्याजदर वृद्धिप्रति भक्तपुर उद्योग वाणिज्य संघको आपत्ति


कार्तिक ४, २०७९, शुक्रबार | दिउँसो ०३:०४ बजे | 30


ब्याजदर वृद्धिप्रति भक्तपुर  उद्योग वाणिज्य संघको आपत्ति

भक्तपुर ः पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणको ब्याजदरमा गरेको वृद्धिप्रति भक्तपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । 
बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै संघले शुक्रबार वाणिज्य बैंकहरुलाई ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत उक्त ज्ञापन पत्र बुझाएको हो । बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष मानन्धरले बताए । 
बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले महँगी बढाउने र लगानी निरत्साहित गर्ने ज्ञापन पत्रमा जनाइएको छ । ‘कर्जामा बढी ब्याज तिर्नुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यापारी तथा व्यवसायीहरुलाई ब्याज तिर्नै मुस्किल परेको छ’, संघका अध्यक्ष मानन्धर र महासचिव दिनेश गोसाईंद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । व्यापारी तथा व्यवसायीहरुले महँगो ब्याजदरमा लिएको ऋणको लगानीले उत्पादकत्वमा महँगो भई बजार मूल्य बढ्ने भएकाले सर्वसाधारण जनता यसको प्रत्यक्ष मारमा पर्ने संघको ठहर छ । 
ब्याजदर वृद्धिले अत्यन्त जटिल र कठिन अवस्थामा आफ्नो व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारी तथा व्यवसायीहरु थप मर्कामा परेको संघले जनाएको छ । ‘७२ सालको विनाशकारी भूकम्प र कोभिड–१९ महामारीपछि सुस्तरी पुनर्युत्थानतर्फ बढिरहेको व्यवसायीहरुको व्यापार व्यवसाय बैंक तथा वित्तीय संस्थाहरुले गरेको उच्च ब्याजदर वृद्धिका कारण क्रमशः मन्दीतर्फ धकेलिन पुगेको छ’, ज्ञापन पत्रमा उल्लेख छ, ‘जसका कारण जिल्लाका धेरैजसो उद्योगी व्यवसायीहरु आफ्नो व्यवसायबाट पलायन हुनुपर्ने अप्रिय अवस्था हुन पुगेको छ ।’ 
देशकै अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णय अनपेक्षित रहेको संघको भनाइ छ । बढ्दो ब्याजदरका कारण व्यापार व्यवसाय थप धराशायी बनेमा देशकै अर्थतन्त्र थप संकटमा पर्ने जनाउँदै गम्भीर आर्थिक संकटको अवस्थाबाट अर्थतन्त्रलाई जोगाउन व्यापारी तथा व्यवसायीहरुले धान्न सक्ने बैंक ब्याजदर कायम हुनुपर्ने संघले माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा गरेको ब्याजदर वृद्धि घटाउनुपर्ने संघको मागप्रति बेवास्ता गरिए व्यापारी तथा व्यवसायीहरुको व्यावसायिक सुरक्षा र अस्तित्वका लागि थप दबाब र संघर्षका कार्यक्रम सञ्चालन गर्न आफूहरु बाध्य हुने चेतावनी समेत ज्ञापन पत्रमार्फत दिइएको छ ।

Comments