चर्काे ब्याज वृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापन पत्र पेश


कार्तिक ४, २०७९, शुक्रबार | विहान ०८:५१ बजे | 10


चर्काे ब्याज वृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापन पत्र पेश

भक्तपुर । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा आज जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा उक्त ज्ञापन पत्र पेश गरिएको हो । ज्ञापन पत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास श्रेष्ठले प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा समक्ष पेश गरेको हो । 
बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ । यसै गरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनु पर्ने र बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुंदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि ध्यानाकर्षण गराएको छ । यसै गरी हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनु पर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको   छ । 

मौजूदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसायहरु धमाधम धरासायी बन्दै गरेको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रिय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनु पर्ने तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएको छ ।

ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससंगै भक्तपुर नगर चेम्बर, चा“गुनारायण नगर चेम्बर, मध्यपुरथिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

Comments