शिक्षकहरूलाई खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम
कार्तिक २, २०७९, बुधबार | विहान ०३:२५ बजे | 15
भक्तपुर। पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृतिको नारा सहित भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १ देखि ६ गतेसम्म हुने खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षक तथा प्राध्यापक शान्ता बहादुर श्रेष्ठलाई भलिबल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख सुनिल प्रजापतिले युवालाई विकृति विसंगतिबाट टाढा राख्न र सम्पूर्ण नागरिकको सर्वाङ्गिण पक्षको विकासको लागि भक्तपुर नगरपालिकाले सेवा गरिरहेको बताउँदै खेलसँगै पठन संस्कृतिको लागि भनपाले संचालन गरिरहेको कलेज तथा अस्पताल एवं जनस्वास्थ्यहरूको ख्याती राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भएको बताउनुभयो ।
उहाँले अहिले विकसित भएको चुनावी तालमेल तथा गठबन्धनले विचारको राजनीतिलाई बेवास्ता गर्दा खिचडी सरहको कारण देशको सार्वभौमिकता गुम्ने ईङ्गित गर्दै राम्रा र योग्य शिक्षकले विद्यालयस्तरबाटै इमानदार र असल देशभक्त विद्यार्थी उत्पादन गर्न आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं। १ का वडाध्यक्ष एवम् भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले खेलाडी उत्पादन गर्ने प्रारम्भिक थलोको रुपमा विद्यालयहरुलाई लिइरहेको र विद्यालयस्तरबाट प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो तालिमको आयोजना गरेको बताउनुभयो उहाँले विद्यार्थीहरुलाई खेलकुदको सिकाईमा आधारभूत सीपको सहजीकरणसँगै सामाजिक रुपमा व्यवहारको दायित्व वहन गर्ने गरी देशको सार्वभौमिकता रक्षा गर्ने जनशक्तिको रुपमा विकास गर्दै लानुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुरमा हालसम्म पनि भक्तपुर नगरपालिका बाहेक अन्य स्थानीय निकायले देशको लागि आवश्यक खेलाडी उत्पादन हुने कार्यक्रम गर्न नसकेको बताउँदै विद्यालयमा सिकाईको क्रममा स्वास्थ्य तथा शारीरिक शिक्षाको महत्त्व अन्य विषय जस्तै आवश्यक रहेको बताउनुभयो ।
प्राध्यापक तथा प्रशिक्षक शान्ता बहादुर श्रेष्ठले शरीरको पाचन प्रकियालाई सहज बनाउन विभिन्न खेलहरू खेल्नुपर्ने बताउँदै समय अनुसार परिमार्जन नियम तथा खेलका प्रविधिले आजको शिक्षण सिकाईलाई सरल बनाएको बताउनुभयो ।
युवा तथा खेलकुद समितिका सदस्यद्व सुनिता अवाल र रन्जना त्वाती समेतले बोलेको सो कार्यक्रममा भक्तपुर नगर भित्रका सामुदायिक र संस्थागत गरी ४० वटा विद्यालयका शिक्षकशिक्षिकाले सहभागिता जनाएका छन्।
६ दिन संचालन हुने उक्त तालिममा
पिटी, एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी र खोखो लगायत ६ वटा खेलहरूको प्रशिक्षण हुने आयोजकले बताएको छ । तालिमको पहिलो दिन आज मंगलबार भलिबलका अन्तर्राष्ट्रिय खेलाडी विजयकृष्ण बाडेले प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले भलिबलको राष्ट्रिय अन्तर्राष्ट्रिय नियम सम्बन्धि सैद्धान्तिक ज्ञान दिएका थिए ।