ख्वप अस्पतालको वीमा भुक्तानी झण्डै सात करोडले बाँंकी
असार २३, २०७९, बिहीबार | विहान ११:२० बजे | 15
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलासँग भेटी ख्वप अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच भएको सम्झौताअनुसार ख्वप अस्पतालबाट बीमामा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको सोधभर्ना प्राप्त हुन बाँकी रकम निकासा गर्ने विषयमा बुधबार छलफल गर्नुभयो ।
प्रमुख प्रजापतिले हालसम्म स्वास्थ्य बीमा बोर्डबाट ६ करोड ६४ लाख ३८ हजार ४५२।८६ रुपैयाँ सोधभर्ना प्राप्त गर्न बाँकी देखिएको र सो रकम निकासाको लागि आग्रह गर्नुहुँदै सोधभर्ना समयमै प्राप्त नहुँदा अस्पताललाई आर्थिक समस्या परेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमले सरकारी अस्पतालहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुँदै व्यापक जनता यस सेवाबाट लाभान्वित भइरहेकोमा समयमै बीमा रकम सोधभर्ना गर्न बोर्ड क्रियाशील हुनुपर्ने बताउनुभयो ।
भेटमा कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको पैसा भुक्तानी र बजेट निकासा समयमै नहुँदा धेरै अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम पत्र पठाएर सेवा बन्द
गर्ने गरेको बताउनुहुँदै भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको र आगामी आसोजसम्ममा भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बीमितको संख्या बढ्दै जाँदा समयमै भुक्तानी गर्न नसकिएको बताउनुहुँदै जनशक्ति अभावका कारण पनि भुक्तानी दिन ढिलाइ भइरहेको हो भन्नुभयो ।