बजार अनुगमन तथा नापतौल सम्बन्धी अभिमुखीकरण


2022-07-01 15:17:24

News Image

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बजार अनुगमन तथा नापतौल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना जगाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापारीहरुलाई स्वच्छ र शुद्ध व्यवसाय सञ्चालन गर्न सचेतनामूलक र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अधिकतम व्यवसाय घाटामा गईरहेको बर्तमान अवस्थामा व्यापारीहरुको पिरमर्कालाई राज्यले बुझ्नुपर्ने र देश – समाजको समृद्धिमा योगदान गर्ने करदाता व्यवसायीहरुलाई उचित र सम्मानजनक व्यवहार गरिनुपर्नेमा पनिजोड दिनुभयो ।
कार्यक्रमका अतिथि भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले उद्योग व्यवसाय दर्ता, नविकरण, नामसारी–ठाउँसारी, पूँजी तथा क्षमता बृद्धि, लगत कट्टा वा खारेजी तथा संयुक्त बजार अनुगमन निर्देशिका सम्बन्धी जानकारी गराउँदै उपभोक्ता र व्यवसायीहरु दुवैको हितमा ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ३ का अध्यक्षएवं अनुगमन समितिका संयोजक राजकृष्ण गोराले यो कार्यक्रम व्यापारीहरुको लागि एकदम महत्वपूर्ण भएको भन्दै यसले व्यवसायीहरुमा सचेतना ल्याउने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाले हरेक महिना ४ पटकसम्म भिन्नाभिन्नै प्रकृतिका व्यवसायहरुको अनुगमन गर्दै आएको र आवश्यक परेको खण्डमा थप अनुगमनसमेत गर्ने गरेको बताउनुभयो । कुनै उपभोक्ताबाट उजुरी वा सूचना पाएको खण्डमा आकष्मिक अनुगमन गर्ने गरेको समेत बताउनुभयो । यस्ता गतिविधिहरु व्यवसायीहरुलाई हतोत्साही गर्न नभई सचेत गराउने र उपभोक्ता हितको उद्देश्यले गर्ने गरिएको हो भन्नुुभयो ।
संघका पूर्व अध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीले बजार अनुगमन व्यापारी वर्गलाई त्रसित पार्ने नभई मर्यादित हुन्पर्नेमा जोड दिनुभयो । पहिलो गल्तिमै सजायँ दिनुको साटो नसिहत दिनुपर्ने र पुनःगल्ती दोहो¥याएमा मात्र सजायँ दिनुपर्छ भन्नुभयो । मूल्यबृद्धिको अवस्थामा साना व्यापारीहरुलाई मात्र कारबाही गर्ने गरिएको घटनालाई औंल्याउँदै मूल्य बृद्धिको श्रोत पत्ता लगाई मुख्य दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार रामप्रसाद प्रजापतिले यस्ताखाले अनुगमन उपभोक्ता हित र सन्तुष्टीलाई ध्यानमा राखी गरिन्छ तर त्यसले व्यापारीहरुलाई एकतर्फी ढंगबाट मर्कामा पार्न नहुने कुरा राख्नुभयो ।
कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले आफू नापतौल सम्बन्धी अनुगमन टोलीमा सहभागी हुँदा व्यापारीहरु नापतौलको नीतिनियमबारे पर्याप्त रुपमा सचेत नभएको पाइयो त्यसकारण व्यवसायीहरुलाई सम्मानजनक ढंगले व्यवसाय सञ्चालन गर्न नीतिनियमबारे यथेष्ट जानकारी गराउनुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रमका संयोजक तथा भउवा संघका सचिव विश्वराम दुवालले भक्तपुर जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा ढक तराजु तथा नापतौलका यन्त्रहरुको दर्ता नविकरण लगायत अन्य सेवा प्रदान गर्न संघले समयसमयमा गुणस्तर तथा नापतौल कार्यालयको सहयोगमा शिबिरहरु सञ्चालन गर्दै आएको बताउनुभयो र साथै अभिमुखीकरण कार्यक्रमको आवश्यकता सोही अवसरमा महसुश गरिएको बताउनुभयो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले पनि अनुगमन र यसको अवस्थाबारे आफ्नो बिचार राख्नुभएको थियो. ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *