नेपालमै पहिलो पटक जनप्रतिनिधि पनि संक्रमित​


जेठ ११, २०७७, आइतबार | विहान ०७:३० बजे | 45


कृष्ण किसी, भक्तपुर, जेठ ११

कोरोना भाइरस (कोभिड १९) बाट नेपालमै पहिलो पटक भक्तपुरकी जनप्रतिनिधि संक्रमित भएकी छिन् । भक्तपुर नगरपालिका वडा नं ९ की महिला ४२ वर्षीया महिला वडा सदस्य कोरोनाबाट संक्रमित भएकी हुन् ।

शुक्रबार स्वास्थ मन्त्रालयले अन्य जिल्लासहित भक्तपुर नगरपालिका वडा नं ९ निवासी ४२ वर्षीय महिला संक्रमित भएको रिपोर्ट सार्वजनिक गरेको थियो । पछि उनी सोही वडाकी महिला जनप्रतिनिधि रहेको खुलेको थियो ।

पेशाले नर्ससमेत रहेकी उनी जनताको काममा खटिंदा रोग संक्रमण भएको अनुमान गरिएको छ । उनी यसअघि जनप्रतिनिधिको नाताले नगरपालिकाको काममा निरन्तर खटिरहेकी थिइन् । साथै उनी नगरपालिकाबाट वितरित राहत वितरण कार्यक्रममा पनि सक्रिय सहभागी थिइन् ।

अहिले उनी पाटन अस्पतालमा उपचाररत छिन् । संक्रमणको पुष्टी भएपछि शनिबार विहानै उनी वस्ने गरेको भक्तपुरको कमलविनायकस्थित मालपोत कार्यालय नजिकैको क्षेत्र प्रहरीले सिल गरेको थियो ।

भक्तपुरमा हालसम्म चार जना कोरोना सक्रमित भेटिएका छन् । जनप्रतिनिधिमा भएको यो पहिलो संक्रमण हो । यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलस्थित काठमाडौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना संक्रमण देखिएको थियो । उनी भक्तपुरको तश्रो संक्रमित तर पहिलो स्थानीय थिए । यसअघि जिल्लामा वस्ने दुई जनामा कोरोना संक्रमण भेटिएको थियो । तर उनीहरु शुक्रबार नै उपचारपछि अस्पतालबाट निको भई डिस्चार्ज भएका थिए ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा पहिलो पटक नगरपालिकाले आफ्ना जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका कार्यरत स्वास्थ्यकर्मी तथा सफाई क्षेत्रमा कार्यरत मजदुरहरुको आरडिटी परीक्षण गरेको थियो । त्यस क्रममा भक्तपुर नगरपालिका वडा नं ९ कै वडासचिवको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । साथै एकजना सफाई मजदुरको पनि आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । तर पछि उनीहरु दुवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पहिलो पटक आरडिटी रिपोर्ट पोजेटिभ आएप्छि भरपर्दाे नभएको भन्दै नगरपालिकाले आफना जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र सफाई मजदुरको पीसीआर परीक्षण गरेको थियो । तर दोश्रो चरणको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आए पनि सोही वडाकै अर्थात् वडा नं ९ कै महिला वडा सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

जनताको सेवामा दिनरात खटेर नगरभरिको सेवामा समर्पित नर्स महिला वडा सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भक्तपुर नगरभरि सन्त्रास छाएको   छ । यही कारण भक्तपुर नगरमा समुदायस्तरमा संक्रमण फैलिएको हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वडा सदस्य नै संक्रमित भएकाले नगरमा उच्च सतर्कता अपनाइएको जनाइन् ।

Comments