किन खाइन्छ सिथि नखामा व र चटामारी ?
जेठ २२, २०७९, आइतबार | विहान ०८:५४ बजे | 25
सिथी न:ख
सिथी न:खलाई कोहि इनार सफा गर्ने दिन भनी लिन्छ त कोहि "व" खाने दिनको रुपमा पनि लिने गर्दछ । बास्तबमा यो न:ख कहिले र किन सुरु भएको भने तथ्य प्रमाण भेटिएको छैन । तैपनी यो संस्कृति लिच्छविकालिन (सन ४००-७५०) हो भन्ने गर्दछ । नेपाल सम्बत तछलाथ्व षष्ठी तिथीको दिन मनाइने यस पर्व मनसुनको पुर्व संकेत हो । मनसुन आउन लाग्यो भनेर पानीका मुहानहरु जस्तै इनार, कुवा, ल्वँ हिति, पोखरी आदि परिसरको सरसफाइ गर्ने गरिन्छ । आजकै दिन इनारको पानी सबै निकाली खसेको फोहरहरु सबै निकाली सरसफाइ गरि चार दिन सम्म पानी निकाल्न दिन्दैनन । यसरी यस पर्वलाई सरसफाइ गर्ने पर्वको रुपमा पनि लिने गरिन्छ । राजा यक्ष मल्लले आजको दिन सम्पुर्ण पानीको मुहानहरु सफा गर्न उर्दी जारी गरेका थिए पनि भनिन्छ । आजैकै दिनलाई भगवान शिव र पार्वती माताको सन्तान कुमारको जन्मदिनको रुपमा पनि लिइन्छ तसर्थ यसदिनलाई कुमार षष्ठी पनि भने गरिन्छ । नेवार समुदायहरुको घर अगाडि रहेको कुमार (पेखलकु/पेखालाकि) को पुजा गरि सम्मेबजी खाने समेत गर्ने प्रचलन रहि आएको छ । यस सम्मेबजीमा कुमारको प्रसाद भनी "व"( एक प्रकारको विशेष रोटि) र चतमरी अनिवार्य रुपमा खाने गरिन्छ । बैज्ञानिक दृष्टिकोणले पनि मनसुन लागेपछी ब्याक्टेरिया बढ्न थाल्छ । मुख्य त पानीको माध्यमबाट ती ब्याक्टेरिया हाम्रो शरिरमा जाने भएकोले पानीका मुहानहरु सफा गर्नु पर्छ भने त्यस्ता किताणुसंग लड्न इम्युन शक्ति (रोगसंग लड्ने शक्ति) मज्बुद हुनु पर्दछ । इम्युन बढाउन प्रोटिन, आइरन, कार्वोहाइड्रेड भएको खानु पर्दछ जुन "व" र चतमरीमा पाइन्छ । तसर्थ "व" चतमरी खाने प्रचलन चलेको हो । आजको दिन दिगुपुजा (देवाली) को अन्तिम दिन मानिन्छ । आजको दिन काठमाडौको जैसिदेवलमा सिद्धि कुमार र भक्तपुरको थिमीमा सिथीन:ख द्य: को पुजा गरिन्छ । भने थिमीमा इनार सफागर्ने क्रममा पाएको करुवा, बाल्टिन तथा अन्य सरसामन जसजसको हो पैसा तिरेर लाग्ने चलन पनि रहेको छ । सो पैसाले सरसफाईको कार्य गरिन्छ ।