अनौठो


जेठ २०, २०७९, शुक्रबार | विहान ०४:२२ बजे | 35


अनौठो

डा. सिता सुवेदी


मान्छेको जन्म र कर्म अनौठो
संसारको सृष्टि र सार अनौठो
मान्छेको बानी र प्रवृत्ति अनौठो
उसको विचार र शैली अनौठो ! उसको विचार र शैली अनौठो ।
सद्गुण र असल कर्म अरूको
स्वीकार गर्नै नसक्ने ऊ
परिवर्तनको सिढी चढ्छु भन्छ
सङ्कीर्णताको जालोमा जेलिँदै गर्दा

उसको उत्कट धाक अनौठो ! उसको उत्कट धाक अनौठो ।
शून्य प्रतिफलको कर्म गर्दै
समृद्धिको सुनामीे ठान्छ आफूलाई
स्वीकार्दैन कसैका प्रेरक कार्यलाई
सधैँ उसको प्रतिवाद अनौठो ! सधैँ उसको प्रतिवाद अनौठो ।
 कुहिएर विलय हुन बाँकी

झ्याउ लागेको अवशेष त्यो
बसेर कुवाभित्र देखाउँछ संसारको फुर्ति
आफूलाई सर्वज्ञ, मर्मज्ञ ठान्दै
कठै ! टिठ लागेर आउँछ कुनै बेला
उसको अहङ्कारको अलङ्कार अनौठो !
उसको अहङ्कारको अलङ्कार अनौठो ।

मोती र सङ्खे किरा छुट्याउँदैन ऊ
भासका फसिरहेको बिचरो
के थाहा ? सागरमा मोती टिप्नेहरूका कथा
के थाहा ? सुनामी छलेर उठ्नेहरूका व्यथा
कठै ! त्यो दृष्टि र चेतना अनौठो !
उसको कुवाभित्रको संसार अनौठो ।

Comments